जनकपुर । नेपालमा बाढी आउनुअघि गर्ने तयारी, जोखिम न्यूनीकरण तथा विपद् पश्चातको पुनर्स्थापनासम्बन्धी नीतिपत्र मधेश प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ।
शुक्रबार जनकपुरधाममा आयोजित समर्पण कार्यक्रममा अमेरिकन सोसाइटी अफ नेपलीज इन्जिनियर्स (एएसएनइएनजीआर) अमेरिका द्वारा तयार पारिएको उक्त नीतिपत्र मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णलाई हस्तान्तरण गरिएको हो।
एएसएनइएनजीआर अमेरिकाका सञ्चालक समिति सदस्य उपेन्द्र लाल कर्णका अनुसार नीतिपत्रमा नेपालको तराई, पहाड र हिमाली भेगमा बाढी आउने मुख्य कारण, बाढीअघि अपनाउनुपर्ने सावधानी, बाढीका क्रममा तथा बाढीपछिका आवश्यक कार्यहरूलाई विस्तृत रूपमा समेटिएको छ।
उनका अनुसार विज्ञहरूको टोलीले तयार पारेको नीतिपत्रमा तराई मात्र नभई हिमाली तथा पहाडी क्षेत्रमा हिमताल फुट्ने, भूस्खलनका कारण आउने आकस्मिक बाढीबाट बच्ने उपायहरूबारे पनि स्पष्ट सुझावहरू समावेश छन्।
उक्त नीतिपत्रले सरकारलाई बाढी जोखिम न्यूनीकरणका लागि नीति निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कर्णले नीतिपत्र यसअघि राष्ट्रपतिलाई बुझाइसकिएको र शुक्रबार मधेश प्रदेश सरकारलाई हस्तान्तरण गरिएको जानकारी दिए।
नीतिपत्र ग्रहण गर्दै प्रदेश प्रमुख डा. लाभ कर्णले यसै नीतिपत्रको आधारमा मधेश प्रदेश सरकारले प्रभावकारी विपद् व्यवस्थापन नीति निर्माण गर्ने प्रतिबद्धता जनाए।


