Saturday, November 7, 2026
Homeसामाचारसुरक्षाकर्मीको मनोबल खस्किएको निष्कर्ष, सरकारसँग ‘सुरक्षाकर्मीकै सुरक्षा’को माग

सुरक्षाकर्मीको मनोबल खस्किएको निष्कर्ष, सरकारसँग ‘सुरक्षाकर्मीकै सुरक्षा’को माग

विराटनगर। विराटनगरमा बुधबार कोशी प्रदेशस्तरीय उच्चस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, नेपाली सेनाका रथी प्रदीपजंग केसी, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की सहभागी थिए।

दिनभर चलेको गोष्ठीमा कोशी प्रदेशका सुरक्षा अधिकारीहरूले आगामी निर्वाचनलाई लक्षित गर्दै सुरक्षा चुनौती, सुरक्षाकर्मीको मनोबल, लजिस्टिक अभाव र कानुनी सुरक्षाका विषयमा आफ्ना गुनासा राखेका थिए।

गोष्ठीमा सहभागी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूले सुरक्षाकर्मीको मनोबल खस्किनुको मुख्य कारण ‘कर्तव्य पालनाका क्रममा गरिएको कामको भोलि कानुनी कारबाही भोग्नुपर्ने डर’ रहेको बताएका छन्। निर्वाचनको समयमा भिड नियन्त्रण वा सुरक्षा जोखिम टार्न बल प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ, तर फिल्डमा खटिने सुरक्षाकर्मीमा ‘आज कमाण्ड सम्हाल्दा भोलि कानुनी कठघरामा उभिनुपर्ने त होइन?’ भन्ने मनोवैज्ञानिक त्रास देखिएको सिडिओहरूको निष्कर्ष थियो।

गोष्ठीमा एक सुरक्षा अधिकारीले गृहमन्त्रीसमक्ष भने, “प्रहरीले राम्रोसँग काम गर्न नसक्नुको कारण मनोबल उच्च नहुनु हो। कर्तव्य पालनाका क्रममा गरिएको बल प्रयोगका विषयमा पछि स्पष्टीकरण सोधिने वा कारबाही हुने डरले सुरक्षाकर्मीहरू निष्क्रिय बस्ने वा मैदान छोड्ने प्रवृत्ति बढेको छ। हामीलाई स्पष्ट अधिकार र कानुनी सुरक्षा चाहिएको छ।”

गोष्ठीमा जेनजी आन्दोलनका क्रममा हराएका तथा लुटिएका हतियारको विषय पनि गम्भीर रूपमा उठाइएको थियो। ती हतियार आपराधिक समूहको हातमा पुगेको हुनसक्ने र आगामी निर्वाचनका लागि ठूलो सुरक्षा चुनौती बन्न सक्ने भन्दै सूक्ष्म अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकालिएको छ। लुटिएका हतियार फिर्ता ल्याउन वा निष्क्रिय पार्न नसकिए निर्वाचन शान्तिपूर्ण बनाउन कठिनाइ हुने सुरक्षा प्रमुखहरूको भनाइ छ। यस्तै लुटिएका बर्दीको दुरुपयोग हुन सक्ने जोखिमप्रति पनि सचेत रहनुपर्ने विषय उठाइएको थियो।

सवारी साधन र अन्य लजिस्टिक सामग्रीको अभाव पनि गोष्ठीमा प्रमुख रूपमा उठाइएको विषय हो। विशेषगरी कोशी प्रदेशका दुर्गम तथा सीमावर्ती क्षेत्रमा खटिने सुरक्षाकर्मीका लागि तत्काल आवश्यक बन्दोबस्ती सामग्री उपलब्ध गराउन सरकारसँग माग गरिएको छ। खुल्ला सीमाका कारण हुने अवैध घुसपैठ, निर्वाचन बहिष्कार गर्ने वा अवरोध पुर्‍याउने समूहहरूको गतिविधि नियन्त्रण कसरी गर्ने भन्ने विषयमा पनि विस्तृत छलफल भएको थियो।

सुरक्षा निकायबाट उठेका प्रश्न र गुनासो सुनेपछि गृहमन्त्री अर्यालसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूले सुरक्षाकर्मीलाई आश्वस्त पारेका थिए। गृहमन्त्री अर्यालले कानुनसम्मत ढंगले काम गर्दा आइपर्ने कुनै पनि समस्यामा सरकारले सुरक्षाकर्मीको बचाउ गर्ने प्रतिबद्धता जनाए।

“निर्वाचनलाई शान्तिपूर्ण बनाउन कानुन बमोजिम बल प्रयोग गर्नुपर्ने ठाउँमा नहिच्किचाउनुस्,” गृहमन्त्रीको निर्देशन थियो, “कर्तव्य पालनाका क्रममा आइपर्ने कानुनी वा अन्य समस्यामा सरकार तपाईंहरूको साथमा छ। अपराध गर्ने र निर्वाचन बिथोल्नेलाई कुनै हालतमा नछोड्नुस्।”

गोष्ठीमा सबै सुरक्षा निकायका प्रमुखहरूले पनि आगामी निर्वाचनलाई सुरक्षित बनाउन आपसी समन्वयमा काम गर्ने र सुरक्षाकर्मीको मनोबल बढाउन आवश्यक अधिकार र साधनस्रोतको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन्।

गृह मन्त्रालय तथा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित गोष्ठीमा प्रदेशका १४ वटै जिल्लाका सुरक्षा प्रमुखहरूको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका