Saturday, November 7, 2026
Homeसामाचारजेनजी आन्दोलनमा घाइते खनालकी पत्नी चित्रकारको स्वास्थ्यमा सुधार, सरकारले चासो नदिएको गुनासो

जेनजी आन्दोलनमा घाइते खनालकी पत्नी चित्रकारको स्वास्थ्यमा सुधार, सरकारले चासो नदिएको गुनासो

काठमाडौं — जेनजी आन्दोलनका क्रममा घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। तीन महिनाभन्दा बढी समय भारतमा उपचार गराएर उनी हाल नेपाल फर्किएकी छन् र आफ्नै निवासमा आराम गरिरहेकी छन्।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा डल्लुस्थित खनाल दम्पतीको निवासमा आगजनी भएको थियो। उक्त घटनामा गम्भीर घाइते भएकी चित्रकारलाई तत्काल भारत लगेर उपचार गरिएको थियो।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा चित्रकारले जेनजी आन्दोलनको नाममा बाह्य शक्तिले आफूहरूमाथि मात्र नभई सिंगो देशमाथि नै आक्रमण गरिएको दाबी गरिन्। उनले राजनीतिक रूपमा संलग्न वा असंलग्न जो–कोहीमाथि यस्ता अमानवीय आक्रमण हुनु ‘जंगली पारा’ भएको बताइन्।

उनका अनुसार जेनजी आन्दोलन निउ मात्र थियो र वास्तविक जेनजीहरू यस्ता हिंसात्मक गतिविधिमा संलग्न नहुने दाबी गरिन्। ‘जेनजीहरूको नाममा अरूले खेल खेले। देशलाई ध्वस्त पार्ने षड्यन्त्र भयो,’ उनले भनिन्।

घटनाको विवरण स्मरण गर्दै चित्रकारले भनिन्, ‘त्यो दिन हामी खाना खाइसकेर किचन वरिपरि थियौं। एक्कासी चारैतिरबाट ढुंगा हानियो। त्यसपछि धुँवाको मुस्लो आयो, यति तातो कि हात पोल्यो र सास फेर्नै गाह्रो भयो। झ्यालतिर दौडिँदै गर्दा ढलेछु, त्यसपछि केही थाहा भएन।’

उनले आगजनी र आक्रमणबारे कुनै पूर्वसूचना नपाएको बताउँदै त्यसै कारण ठूलो क्षति भोग्नुपरेको उल्लेख गरिन्।

यसैबीच, पूर्वमन्त्री झलनाथ खनालले वर्तमान सरकारले चित्रकारको स्वास्थ्य अवस्थाबारे सामान्य जानकारीसमेत नलिएको भन्दै गुनासो गरेका छन्। उनले सरकारमा मानवीयता र विवेकको अभाव देखिएको टिप्पणी गरे।

‘चित्रकार भदौ २४ को घटनामा घाइते भएको कुरा सरकारलाई थाहा छ कि छैन? उपचार आवश्यक छ कि छैन भन्नेबारे कुनै चासो देखिएन,’ खनालले भने। ‘यो राज्य जेनजीका नायकहरूको मात्रै हो कि सबै नागरिकको हो?’

खनालले घटनामा संलग्न व्यक्तिहरूलाई देशका शत्रु र अपराधीको संज्ञा दिँदै कडा कारबाहीको माग गरे। ‘ती ज्यानमारामाथि सरकारले कारबाही गर्छ कि गर्दैन भन्ने प्रश्न तीन करोड नेपालीको प्रश्न हो,’ उनले भने।

श्रीमतीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै खनालले भने, ‘साढे तीन महिना उपचारपछि अहिले अवस्था केही सुधार भएको छ। तर एउटा हात गुमेको छ र अर्को हात पनि अझै चल्न सकेको छैन। दैनिक ज्वरो आउने र संक्रमणको जोखिम कायमै छ। शारीरिक मात्र होइन, मानसिक पीडा पनि अत्यन्त गहिरो छ।’

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका