काठमाडौं । कारागारको अग्लो पर्खालभित्र आमाबाबुसँगै थुनिन बाध्य निर्दोष बालबालिकाको पीडा धेरैको नजरबाट ओझेलमा पर्छ। तर यही पीडाले एक महिलाको जीवनको दिशानै परिवर्तन गरिदियो। ती महिला हुन्—इन्दिरा राना मगर।
वि.सं. २०२७ साल असार १८ गते झापाको अर्जुनधारा नगरपालिका–११ मा जन्मिएकी इन्दिरा सानैदेखि जुझारु र आत्मनिर्भर थिइन्। प्रतापसिंह मगरकी छोरी इन्दिरा गरिबी, विभेद र संघर्षबीच हुर्किइन्। पाँच कक्षासम्म औपचारिक पढाइ नपाएकी उनी पछि उत्कृष्ट अंकसहित अध्ययनमा अगाडि बढिन्। यही संघर्षपूर्ण बाल्यकालले उनलाई अरूको दुःख बुझ्न सक्ने बनायो।
१८ वर्षको उमेरमा उच्च शिक्षाका लागि काठमाडौं आएकी इन्दिराको जीवन साहित्यकार पारिजातसँगको भेटपछि निर्णायक मोडमा पुग्यो। पारिजातसँगै कारागार भ्रमणका क्रममा उनले जेलभित्र आमाबाबुसँगै बस्न बाध्य साना बालबालिका देखिन्।
‘अपराध आमाबाबुले गरेका थिए, तर सजाय बालबालिकाले भोगिरहेका थिए,’ यही अनुभूतिले उनले आफ्नो जीवन यी बालबालिकाका लागि समर्पित गर्ने निर्णय गरिन्।
त्यसपछि सुरु भयो ‘बन्दी सहायता गृह’ को यात्रा। सुरुमा स्वयंसेवकका रूपमा कारागारभित्र शिक्षा, मानसिक रोगीको हेरचाह र महिला बन्दीका अधिकारका लागि आवाज उठाएकी इन्दिराले क्रमशः ‘बन्दी सहायता नेपाल’ लाई संस्थागत रूप दिइन्। आज यो संस्थाले देशभर १५ वटा केन्द्र सञ्चालन गर्दै आएको छ।
हालसम्म इन्दिराले दुई हजारभन्दा बढी बालबालिकालाई शिक्षा, पालनपोषण र सुरक्षित वातावरण प्रदान गरिसकेकी छिन्। आफ्नै कोखबाट जन्मिएको एक सन्तान भए पनि हजारौँ बालबालिकाले उनलाई ‘आमा’ भनेर चिन्छन्। उनले विकास गरेको मोडेल विश्वमै फरक मानिन्छ, जहाँ बालबालिकालाई आमाबाबुसँग पूर्ण रूपमा अलग नगरी नियमित भेटघाट गराइन्छ। यसले बालबालिकासँगै बन्दी आमाबाबुको पनि मानसिक पुनर्स्थापना भएको उनको अनुभव छ।
इन्दिराले शिक्षा क्षेत्रमा ‘जूनकिरी दर्शन’ अघि सारिन्—अँध्यारोमा जूनकिरी झैँ हरेक बच्चामा आफ्नै उज्यालो हुन्छ। कसैमा संगीत, कसैमा खेल, कसैमा सिर्जनशीलता। त्यही क्षमता पहिचान गरेर हुर्काउनु नै उनको शिक्षा दर्शन हो।
उनको कामले अन्तर्राष्ट्रिय पहिचान पनि पाएको छ। बीबीसी, अल जजिरा र एनएचकेजस्ता सञ्चारमाध्यमले उनको कथा विश्वभर फैलाएका छन्।
कोभिड महामारीका बेला राज्यको कमजोर भूमिकाबाट निराश बनेकी इन्दिरा पछि राजनीतिमा प्रवेश गरिन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेकी उनी हाल नेपालको उपसभामुखको जिम्मेवारीमा छिन्। उपसभामुख निर्वाचनमा २६८ सांसद उपस्थित हुँदा उनले १६६ मत प्राप्त गरेकी थिइन्।
समाजसेवामा जति प्रशंसा छ, उति नै आरोप पनि उनीमाथि लागेका छन्। विदेशी सहयोग दुरुपयोगको आरोपबारे इन्दिरा भन्छिन्, ‘मेरो जीवन खुला किताब हो। मैले पाएका सबै पुरस्कार र सहयोग बालबालिकामै लगानी गरेकी छु।’
इन्दिरा राना मगरको सपना स्पष्ट छ—कुनै पनि बच्चा ‘अपराधीको सन्तान’ भनेर चिनिन नपरोस्। शिक्षा, माया र अवसर सबैका लागि समान होस्। आज उनले हुर्काएका बालबालिका डाक्टर, नर्स, शिक्षक, सैनिक, प्रहरी बनेका छन्। केही त उनकै संस्थामा रहेर अर्को पुस्ता हुर्काइरहेका छन्।
पद जेसुकै भए पनि उनको मूल चिनारी उही छ—आमा। कारागारको अँध्यारो कुनाबाट सुरु भएको उनको यात्रा आज पनि जारी छ, जूनकिरीझैँ अँध्यारोमा उज्यालो छर्दै।


