काठमाडौं । ठेक्का सम्झौता भएको १४ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन नसकेको हुलाकी राजमार्गअन्तर्गत सिराहा–धनुषा सीमामा पर्ने बहुप्रतिक्षित कमला पुलको बाँकी काम अहिले तीव्र गतिमा भइरहेको छ। निर्माण व्यवसायीले आगामी चैतभित्र पुल निर्माण सम्पन्न गरी यातायात सञ्चालन गर्ने कार्यतालिकाका साथ काम अघि बढाएको जनाएको छ।
निर्माण व्यवसायी स्वयंले पुलको डिजाइन र निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको यस पुलको लम्बाइ ४६९ मिटर रहेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले गत ५ मंसिरमा स्थलगत अनुगमन गरी पुल निर्माण तथा पुनर्स्थापनाको काम तत्काल अघि बढाउन निर्देशन दिनुभएको थियो। उहाँले निर्माणको नियमित अनुगमन गर्ने र काम सन्तोषजनक नभए ठेक्का तोड्ने चेतावनीसमेत दिनुभएको थियो। साथै, नदीमा ह्युम पाइप राखेर अस्थायी आवतजावतको व्यवस्था गर्न निर्देशन दिइएको थियो, जसअनुसार पाइप राख्ने कामसमेत अघि बढाइएको छ।
ठेक्का सम्झौता भएको करिब १४ वर्ष पुग्दासमेत पुल निर्माण नहुँदा स्थानीय नागरिकले सास्ती खेप्दै आएका छन्। पुल नहुँदा सवारीसाधनले लामो वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ भने कमला नदी वारपार गर्न जोखिमपूर्ण र कष्टकर यात्रा गर्नुपर्ने अवस्था छ।
२०७८ असार १७ गते कमला नदीमा आएको बाढीले पुलका दुईवटा जग भासिँदा चारवटा स्लाबमा क्षति पुगेको थियो। प्राविधिक अध्ययनअनुसार सिराहा (पूर्व)तर्फका दुईवटा स्लाब हटाइसकिएको छ भने धनुषा (पश्चिम)तर्फका दुईवटा स्लाब हटाउन नपर्ने निष्कर्ष निकालिएको छ।
भासिएको जगलाई सुदृढ बनाएर स्लाब लिफ्टिङको काम सुरु गर्ने तयारी भइरहेको छ। यसका लागि विज्ञ प्राविधिक टोलीले निरीक्षण तथा अध्ययन गरी कार्ययोजना बनाइरहेका छन्।
पुलको पूर्वतर्फ (सिराहा) को सब–स्ट्रक्चर निर्माण सम्पन्न भइसकेको छ। सिराहातर्फ भासिएको स्थानमा दुईवटा नयाँ जग निर्माण गरी सब–स्ट्रक्चरको काम सकिएको छ। अब प्लेट गडर जडान गर्न बाँकी रहेको छ। प्लेट गडर चितवनमा निर्माण भइरहेको र तयार भएपछि पुलमा ल्याएर जडान गरिने निर्माण व्यवसायीले जनाएको छ।
यद्यपि, ठेक्काअन्तर्गत पर्ने नदी नियन्त्रण तथा पहुँच सडक निर्माण भने अझै सुरु हुन सकेको छैन। गत असोजमा आएको बाढीपछि कमला नदीको धार परिवर्तन भएकाले डिजाइन संशोधनबारे छलफल भइरहेको र डिजाइन टुंगिएपछि निर्माण सुरु गरिने बताइएको छ।
तराई–मधेशको ‘लाइफ लाइन’का रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत पर्ने कमला पुल निर्माणका लागि **२०६८ जेठमा २४ करोड ९१ लाख रुपैयाँ (भ्याटसहित)**मा पप्पु लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो। प्रारम्भिक सम्झौताअनुसार पुल निर्माण २०७१ मंसिरभित्र सम्पन्न हुनुपर्ने थियो।
समयमै काम नसकिएपछि ठेक्काको म्याद सात पटकसम्म थप गरिएको थियो। पछिल्लो पटक थपिएको म्याद गत असारमा सकिएको छ। निर्माण व्यवसायीले आगामी असारसम्म म्याद थपका लागि प्रस्ताव पेश गरिसकेको र हाल म्याद थप प्रक्रिया चलिरहेको छ।
हाल बाँकी काम लुम्बिनीले गरिरहेको छ। पुल निर्माणका लागि अहिलेसम्म २० करोड ४३ लाख रुपैयाँ (भ्याटसहित) भुक्तानी भइसकेको जनाइएको छ।


