काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण हाल तराई तथा कोशी र मधेश प्रदेशमा आंशिक बदली देखिएको छ। तराईका धेरै स्थानमा हुस्सु लागेको छ।
महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका अधिकांश स्थानमा हुस्सु कायमै रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका तराई भू–भागमा बिहान केही समय तथा बाँकी तराई भू–भागमा मध्यान्हसम्म कुहिरो लाग्ने सम्भावना रहेको छ।
यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
आज राति पनि तराई भू–भागका धेरै स्थानमा हुस्सु लागिरहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी तथा हिमाली भू–भागमा आंशिक बदलीको अवस्था रहने पूर्वानुमान छ।
महाशाखाले तराई क्षेत्रमा हुस्सु तथा कुहिरोको प्रभावका कारण बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।


