Saturday, November 7, 2026
Homeसामाचारकाठमाडौं महानगरले नदी किनार र सार्वजनिक जग्गा संरक्षणका लागि तारबार लगाउने

काठमाडौं महानगरले नदी किनार र सार्वजनिक जग्गा संरक्षणका लागि तारबार लगाउने

काठमाडौं — काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र रहेका नदी किनार तथा अतिक्रमणको जोखिममा रहेका सार्वजनिक जग्गाहरूको संरक्षणका लागि तारबार गर्ने भएको छ।

महानगरपालिकाको सार्वजनिक निर्माण विभागले सूचना जारी गर्दै यससम्बन्धी कार्य अगाडि बढाएको जनाएको छ। विभागले महानगरअन्तर्गतका सबै ३२ वटै वडालाई पत्राचार गरी तारबार आवश्यक पर्ने खोला किनार र सार्वजनिक जग्गाहरूको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ।

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत बजेट तथा कार्यक्रमअनुसार ‘कोरिडोर फेन्सिङ वर्क्स’ सञ्चालन गर्न लागिएको पत्रमा उल्लेख छ।

विभागीय प्रमुख सुरेश कुमार राईद्वारा हस्ताक्षरित पत्रमा विभिन्न वडा (१–३२) भित्र सुधार तथा संरक्षण आवश्यक रहेका खोला किनार र सार्वजनिक जग्गाहरूको विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ। आवश्यक खरिद प्रक्रिया सम्पन्न भइसकेको र वडाबाट विवरण प्राप्त भएपछि योजना कार्यान्वयन अघि बढाइने महानगरले जनाएको छ।

महानगरका अनुसार यो योजनाले नदी किनार तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै अतिक्रमण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका