म्याड्रिड : रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले क्लब छाडेका छन्। रियलले बुधबार कप्तान रामोसले क्लब छाडेको पुष्टि गर्दै उनको बिदाइ कार्यक्रमसमेत आयोजना गरेको थियो। बिदाइमा रामोस निकै भावुक बनेका थिए। उनले फेरि रियल म्याड्रिड फर्किनेमा आफू आशावादी रहेको बताएका थिए। ‘डेढ दशक लामो बसाइका लागि रियललाई धन्यवाद दिन चाहन्छु र फेरि रियल फर्किनेमा आशावादी छु’, रामोसले भने, ‘रियल संधै मेरो हृदयमा रहने छ।’
१६ वर्ष रियलमा बिताएका रामोसको क्लबसँगको सम्झौता यहीँ जुन अन्तिममा सकिँदैछ। त्यही कारण सेन्टर ब्याक रामोसले दुई साताअघि नै क्लब छाड्न लागेका हुन्। सन् २००५ मा सेभिलबाट उनी रियल म्याड्रिडमा आबद्ध भएका थिए। त्यसपछि उनले डेढ दशकभन्दा बढी समय रियलमै बिताए। सेभिलकै उत्पादन रामोसलाई सन् २००५ मा रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले क्लबमा भित्र्याएका थिए। १९ वर्षीय रामोस त्यतिबेला कीर्तिमानी रकममा रियलमा आबद्ध भएका थिए।
क्लबको हरेक दुःखसुखको साक्षी बनेका ३५ वर्षीय रामोसले रियलबाट ६ सय ७१ खेल खेलेका छन्। आक्रामक डिफेन्डरको भूमिकामा खेल्दै आएका उनले क्लबका लागि एक सय एक गोलसमेत गरेका छन्। यस्तै गोलका लागि उनले ४० असिस्ट गरेका छन्। उनले सेन्टियागो बेर्नाब्युमा २२ ट्रफी जिते। सन् २०१४ मा एट्लेटिको म्याड्रिडविरुद्धको च्याम्पियन्स लिगको फाइनल खेल उनको जीवनकै उत्कृष्ट खेलका रूपमा लिइन्छ। निकै प्रतिस्पर्धात्मक खेलको ९४औं मिनेटमा रामोसले बराबरी गोल गरेका थिए। हारको मुखबाट बचेको रियलले त्यसपछि थपिएको अतिरिक्त समयमा ४–१ को जित निकालेको थियो।
उनको कप्तानीमा रियलले पाँच पटक स्पेनिस ला लिगा र चार पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्। यस्तै फिफा क्लब विश्वकप र स्पेनिस सुपर कप चार÷चार पटक जित्दा यूईएफए सुपर कप तीन पटक जितेका छन्। यसैगरी रियलले कोपा डेल रे दुई पटक जित्दा उनले नै टोलीको नेतृत्व गरेका थिए।
रामोस अब नयाँ क्लबको खोजीमा रहने छन्। उनी युरोकपमा स्पेनिस टोलीको हिस्सा पनि छैनन्। उनी स्पेनका प्रशिक्षक लुइस एनरिकको नजरमा नपर्दा टोलीमा स्थान बनाउन सकेनन्। रामोस अहिले घाइते छन्। चोटसँग संघर्ष गरिरहेका उनले यस वर्ष जम्मा सात खेल मात्रै खेलेका छन्। रामोसले स्पेनको जर्सीमा १ सय ८० खेल खेलेका छन्। स्पेनले सन् २००८ र २०१२ को युरोपियन च्याम्पियनसिप (युरोकप) र सन् २०१० को विश्वकप जित्दा उनी टोलीका प्रमुख खेलाडी थिए।


