Saturday, November 7, 2026
Homeसामाचारम्यानमारका स्क्यामिङ सेन्टरबाट ४७ नेपाली नागरिक उद्धार, नेपाल फर्काइयो

म्यानमारका स्क्यामिङ सेन्टरबाट ४७ नेपाली नागरिक उद्धार, नेपाल फर्काइयो

काठमाडौँ — विभिन्न प्रलोभनमा परी म्यानमारका अवैध अनलाइन ‘स्क्यामिङ’ केन्द्रहरूमा काममा बनाइएका ४७ नेपाली नागरिकको उद्धार गरी नेपाल फर्काइएको छ।

थाइल्यान्डस्थित नेपाली राजदूतावासले सम्बन्धित निकायहरूसँग समन्वय र सहयोगमा उनीहरूलाई उद्धार गरी बुधबार नेपाल पठाएको हो। उद्धार गरिएका नेपालीहरूलाई नेपाल वायुसेवा निगमको विमानमार्फत काठमाडौँ ल्याइएको दूतावासले जनाएको छ।

उद्धार गरिएका ४७ जनामध्ये ४५ जना पुरुष र २ जना महिला रहेका छन्। उनीहरू नेपालका विभिन्न २६ जिल्लाका बासिन्दा हुन्। झापाका ५ जना, धादिङ, गोरखा, रुपन्देही, सिन्धुपाल्चोक र उदयपुरका ३/३ जना, दाङ, महोत्तरी, मोरङ, नवलपरासी, नुवाकोट, स्याङ्जा र तनहुँका २/२ जना रहेका छन्। त्यस्तै चितवन, दैलेख, कास्की, काठमाडौँ, काभ्रे, पाल्पा, रामेछाप, रौतहट, सल्यान, सर्लाही, सिन्धुली, ताप्लेजुङ र तेह्रथुमका १/१ जनाको उद्धार गरिएको छ। उनीहरूको उमेर १७–४१ वर्षको समूहमा पर्छ, र अधिकांशले कक्षा १२ उत्तीर्ण गरेका छन्।

दूतावासका अनुसार पीडितहरू सामाजिक सञ्जाल, खेल वा चिनजानका व्यक्तिमार्फत प्रलोभनमा परेका थिए। उनीहरूलाई भारत र दुवई हुँदै म्यानमार पुर्‍याएर प्रारम्भमा केही समय राम्रो व्यवहार गरे पनि पछि ‘अनलाइन स्क्यामिङ’ (ठगी) मा लगाइएको थियो। लक्ष्य पूरा गर्न नसकेमा शारीरिक तथा मानसिक यातना, बन्धक बनाउने, परिवारबाट फिरौती माग्ने र अर्को व्यक्तिलाई फसाएर ल्याए मात्र छोड्ने जस्ता अमानवीय व्यवहार गरिएको पीडितहरूले बताएका छन्। उनीहरू २ महिनादेखि १८ महिनासम्म बन्धक बनेका थिए।

दूतावासले म्यानमार, थाइल्यान्ड र लाओसका सीमा क्षेत्रमा रहेका स्क्यामिङ सेन्टरहरूबाट नेपालीहरूको उद्धार जारी राखेको जनाएको छ। चालू आर्थिक वर्षमा हालसम्म १४१ जनाको उद्धार गरिएको छ। यसअघि आर्थिक वर्ष २०७९/८० मा १५६ र २०८०/८१ मा ६८ जनाको उद्धार गरिएको थियो।

दूतावासले सामाजिक सञ्जाल वा अपरिचित व्यक्तिको लहलहीमा लागेर रोजगारीका लागि विदेश नजान, र वैदेशिक रोजगारीमा नेपाल सरकारको श्रम स्वीकृति लिएर मात्र जान सचेत गराएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका