काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफूले कसैप्रति प्रतिशोध साँधेर काम नगरेको स्पष्ट पारेका छन्। नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री घिसिङले आफ्नो कार्यशैली परिणाममुखी रहेको र कामका क्रममा कसैप्रति पूर्वाग्रह नराखिने बताएका हुन्।
उनले भने, ‘मैले कसैप्रति प्रतिशोध साँधेर काम गरेको छैन। मेरो उद्देश्य भनेको सही ठाउँमा सही व्यक्ति राखेर परिणाम निकाल्नु हो।’ उनका अनुसार काममा नतिजा नदेखाई केवल पदमा टिकिरहनु उपयुक्त हुँदैन।
मन्त्री घिसिङले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा शाक्यकै आग्रहअनुसार गरिएको दाबी गरे। उनले शाक्यले ‘मैले सकिनँ, सरुवा गर्दा हुन्छ’ भनेपछि मात्र सरुवाको निर्णय लिइएको जानकारी दिए। आफूले सोही सल्लाहअनुसार निर्णय गर्दा अदालत गएको सङ्केत पनि उनले गरे।
शाक्यको सरुवा व्यक्तिगत प्रतिशोध नभई संस्थागत सुधारका लागि आवश्यक कदम भएको उनको भनाइ छ। साथै, अदालतको निर्णयलाई सम्मान गर्ने तर आफ्नो कार्यकालमा नतिजा देखाउन नसक्ने र निर्णय लिन नसक्ने व्यक्तिलाई जिम्मेवारीमा बसिरहन नदिइने उनले बताए।
‘निर्णय नगर्ने र काम नगर्नेलाई कारबाही हुनुपर्छ, नत्र आयोजनाहरू समयमा बन्दैनन्,’ मन्त्री घिसिङले भने।
कार्यक्रममा उनले देश विकासका लागि निर्माण व्यवसायी, परामर्शदाता तथा सरकारी निकाय सबैको समान जिम्मेवारी हुने उल्लेख गरे। आयोजनाहरू समयमै सम्पन्न गर्न सबै पक्षबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउँदै समयमै काम नहुँदा देशलाई ठूलो आर्थिक क्षति र रोजगारीका अवसर गुम्ने खतरा रहने उनले औँल्याए।


