Monday, September 21, 2026
Homeसामाचार‘बडीमालिका मष्टोदेवल महायज्ञबाट १.४ करोड संकलन, विद्यालय र अनाथ बालबालिकाको विकासमा प्रयोग’

‘बडीमालिका मष्टोदेवल महायज्ञबाट १.४ करोड संकलन, विद्यालय र अनाथ बालबालिकाको विकासमा प्रयोग’

बाजुरा — त्रिवेणी नगरपालिका–स्थित तोली देवलडाँडा माध्यमिक विद्यालयमा सम्पन्न बडीमालिका मष्टोदेवल ज्ञान–विज्ञान धार्मिक महा–महोत्सवबाट न्यूनतम १ करोड ४० लाख रुपैयाँ संकलन भएको छ। मंसिर ६ देखि १४ गतेसम्म चलेको महायज्ञबाट प्राप्त रकमको प्रारम्भिक अनुमान यही रहेको कार्यक्रम संयोजक तथा त्रिवेणी–४ का अध्यक्ष गणेश साउदले जानकारी दिए।

उनका अनुसार महायज्ञ भव्य, शान्तिपूर्ण र ऐतिहासिक ढंगले सम्पन्न भएको थियो। संकलित रकम अनाथ तथा टुहुरा बालबालिकाका लागि आवासीय सुविधा निर्माण तथा विद्यालयको समग्र विकासमा खर्च गरिने उनले बताए। “मोटामोटी १ करोड ४० लाखको अनुमान छ। उठेको सम्पूर्ण रकम पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नेछौँ,” साउदले भने।

अनाथ टुहुरा बालबालिकाको हित र विद्यालयको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर महायज्ञ आयोजना गरिएको आयोजक मूल समितिले जनाएको छ। तोली देवलडाँडा माविको खेल मैदानमा आयोजित महायज्ञमा कथा प्रवक्ता श्री चैतन्य कृष्णजी महाराजद्वारा मुख्य कथा वाचन, भजन–कीर्तन तथा विविध धार्मिक कार्यक्रमहरु भएका थिए।

आयोजकले प्रमुख वाचक आचार्य श्री कृष्ण चैतन्य गुरु लगायत कथा–कीर्तन, बाजागाजा, सेवा तथा सत्कारमा समर्पित सबैप्रति कृतज्ञता प्रकट गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका