काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष विनोद कुँवरले संस्थाभित्र बनेको एकता फेरि भत्किए एनआरएनए टुट्ने र ‘नेपाल टेक्न नपाउने’ अवस्था आउन सक्छ भनेर चेतावनी दिएका छन्।
आइतबार संघको कार्यालयमा आयोजित एकता घोषणा कार्यक्रममा बोल्दै उनले विगतमा उच्च तहको रोहबरमा भएको सहमति कार्यान्वयन नभएको अनुभव सुनाए। यसपटक पनि त्यस्तै जोखिम रहेको भन्दै उनले शंका व्यक्त गरे।
उनले यसअघि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको रोहबरमा बद्री केसी र आफूबीच भएको एकता प्रयास असफल भएको स्मरण गरे। ‘अहिले प्रधानमन्त्रीको रोहबरमा भएको सहमति पनि विगतकै बाटो लाग्ने हो कि भन्ने डर छ,’ उनले भने, ‘यदि यो सहमतिबाट बाहिर गइयो भने नेपाल टेक्न नदिने अवस्था आउन सक्छ। एकतामा धोका भए कसैले विश्वास गर्दैन।’
कुँवरले वर्तमान सहमति एक सुरुवात मात्र भएको बताउँदै यसको पूर्ण कार्यान्वयनका लागि सबै पक्ष इमान्दार हुनुपर्नेमा जोड दिए।
सन् २००६ मा दक्षिण कोरियाबाट एनआरएनए अभियानमा जोडिएका कुँवर सन् २०२२ अप्रिलमा अध्यक्ष बने। संस्थालाई छिट्टै विधि–विधानमा ल्याएर जिम्मेवारी अन्त्य गर्ने योजना भए पनि चार वर्ष बित्दा पनि समस्या समाधान नभएको र अझै ६ महिना लम्बिन लागेको भन्दै उनले दुखेसो पोखेका थिए।
उनले ८० लाख गैरआवासीय नेपाली विदेशमा समृद्ध भए पनि राष्ट्र भने गरिबीको बाटोमै रहेको टिप्पणी गर्दै, विगत चार वर्षमा संस्थाले धेरै अवसर गुमाएको र सरकारबाट पाउँदै आएका महत्वपूर्ण अधिकारहरू पनि हराउँदै गएको बताए।
संघको ‘मेरुदण्ड’ मानिने राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरू अस्तव्यस्त भएको भन्दै उनले एउटै देशमा दुई–तीनवटा एनसीसी बन्नु भविष्यमा पुनः विवादको कारण बन्न सक्ने बताए। एकताका मस्यौदामा यस विषय समावेश नभएको प्रति पनि उनी असन्तुष्ट देखिए।
संस्था विभाजन हुनुको प्रमुख कारण अनलाइन भोटिङ प्रणाली र राजनीतिक हस्तक्षेप भएको उनको दाबी थियो। ‘भारतको उडिसासम्मबाट भोटिङ हुने त्रुटिपूर्ण प्रणालीले संस्थालाई विवादमा फसायो,’ उनले भने।
सहमतिमा अदालतमा परेका मुद्दा फिर्ता लिने भनिए पनि मुद्दा हाल्ने पक्षसँग संवाद पर्याप्त नभएको उनले नेतृत्वलाई सम्झाए। ‘समन्वय बिना मुद्दा फिर्ता गर्न खोज्दा भोलि कानुनी अड्चन आउन सक्छ,’ उनले चेतावनी दिए।
कुँवरले आगामी ६ महिनामा खुलेर त्रुटि सच्याई १२औँ महाधिवेशनलाई ‘सबैको साझा महाधिवेशन’ बनाउन आग्रह गरे।


