काठमाडौं । भेपमार्फत सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
उनको धरौटी सम्बन्धी मुद्दामा बिहीबार न्यायाधीश अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। अदालतको आदेशपछि महराले आवश्यक धरौटी रकम बुझाएपछि उनी रिहा भएका हुन्।
जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपक कुमार श्रेष्ठका अनुसार महरा २० लाख धरौटी बुझाएर नैसर्गिक साधिकारमा गएको पुष्टि भएको छ।
सुन तस्करी गएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले महराबिरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो। त्यसपछि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि महरा पक्राउ परेका थिए।
उक्त आदेशविरुद्ध महरा उच्च अदालत पाटन पुगेका थिए। उच्च अदालतले उपलब्ध प्रमाणहरूको आधारमा तत्कालै थुनामा राखेर पुर्पक्ष गर्नुपर्ने अवस्था नदेखिएको निष्कर्ष निकाल्दै असोज २९ गते जिल्ला अदालतले दिएको आदेश बदर गरेको निर्णयमा उल्लेख छ।


