काठमाडौँ, ११ मङ्सिर । विश्वसम्पदा सूचीमा रहेको पशुपतिनाथ मन्दिरभित्र राखिएको फलामको बार हटाइने भएको छ। भक्तजनलाई लामबद्ध गर्न सजिलो होस् भनेर पूर्वमा जडान गरिएका फलामे संरचनाले सम्पदामाथि प्रतिकूल असर पार्ने निष्कर्ष आएपछि हटाउने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीका अनुसार फलामका बारलाई अब काठ र डोरीले प्रतिस्थापन गरिनेछ। पुरातत्व विभागले पनि मन्दिरभित्रका फलामे बार र फलामबाट बनेको आकाशेपुल हटाउन कोषलाई औपचारिक रूपमा आग्रह गरेको थियो।
पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालले विश्वसम्पदा क्षेत्रका संरचनामा फलामे सामग्रीले नकारात्मक प्रभाव पार्ने भएकाले हटाउन पत्राचार गरिएको जानकारी दिए।


