१० मंसिर, काठमाडौं । आफूखुसी कार्यालयमा गैरहाजिर रहेका २७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ।
गैरहाजिर भएकामध्ये प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हवल्दार २ जना, सहायक हवल्दार ३ जना, प्रहरी जवान २० जना र कार्यालय सहयोगी १ जना रहेका छन्।
उनीहरूमध्ये दुई जनाबाहेक सबै जेनजी आन्दोलनपछि कार्यालयको सम्पर्कमा नरहेका देखिन्छन्।
प्रहरी प्रधान कार्यालयले उनीहरूको नाम, ठेगाना, गैरहाजिर भएको मिति लगायतको विवरणसहित सार्वजनिक सूचना जारी गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र अनिवार्य हाजिर हुन निर्देशन दिएको हो।
उनीहरू गैरहाजिर हुनुको कारण खुल्न बाँकी छ। कार्यालयमा उपस्थित हुँदा गैरहाजिर हुनुको कारणसहित सन्तोषजनक स्पष्टीकरण दिनुपर्ने प्रहरीले भनेको छ।
अन्यथा कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ।



