बारा । पूर्वसूचनाबिना जेनजीका अगुवा सुदन गुरुङ नेतृत्वको एक समूह पूर्वमन्त्री तथा बारा–४ का निवर्तमान सांसद किसान श्रेष्ठको औराहास्थित निजी घरमा प्रवेश गरेको घटना सार्वजनिक भएको छ।
पूर्वमन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफू गैरहाजिर भएको मौका छोपी गुरुङको टोलीले घरमा काम गर्ने कर्मचारी र सहयोगीलाई धम्क्याएको दाबी गर्दै घटना प्रति आपत्ति जनाएका छन्। श्रेष्ठले भनेका छन्, “किसान श्रेष्ठको घर फेरि जलाउँछु, तेरो नेतालाई जे पनि हुनसक्छ” भन्ने शैलीमा धम्की दिएको कार्यको घोर भर्त्सना गर्दछु। उनले जेनजी नाममा भइरहेको आतंक रोक्न र शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउन स्थानीय प्रशासन र नेपाल सरकारसँग माग गरेका छन्।
जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते श्रेष्ठको घर र चार सवारी साधनमा तोडफोड तथा आगजनी भएको थियो।
कर्मचारी र इन्जिनियरको दाबी
आगोले क्षतिग्रस्त घरको पुनर्निर्माणमा खटिएका इन्जिनियर चिरन्जीवी झालाई पनि गुरुङ समूहले धम्की दिएको दाबी गरिएको छ। उनको भनाइअनुसार, “सिमराका जेनजीलाई कसैले हातपात गर्यो भने घर मात्र होइन, मान्छेलाई समेत आगो लगाउन सक्छ” भन्ने चेतावनी गुरुङले दिएका थिए।
लामो समयदेखि घरमा सहयोगीका रूपमा कार्यरत मीरा श्रेष्ठले अपरिचित समूहले “अब किसान श्रेष्ठलाई जलाउँछौँ” भनेर धम्क्याउँदै गएको जनाइन्। उनका अनुसार घरमा बस्न समेत डर लाग्ने अवस्था बनेको छ।
बिना अनुमति निजी घर प्रवेशको प्रश्न
स्थानीय प्रशासनलाई जानकारी नदिई निजी निवासमा प्रवेश गरेको विषयमा पूर्वमन्त्रीका स्वकीय विकास साह कानूले प्रश्न उठाए—“कुन निकायबाट खटिएका हुन्, केही जानकारी छैन। यसरी गुण्डागर्दी शैलीमा घरमा छिर्न मिल्छ?”
जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामाङले पनि “यसरी जानकारी नदिई कसैको घरमा प्रवेश गर्नु गलत र गुण्डागर्दी शैली” रहेको टिप्पणी गरे। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले पनि कुनै औपचारिक जानकारी नआएको बताए।
जेनजी पक्षको सफाइ
यता जेनजी मधेस प्रदेश संयोजक शिव यादवले आफूहरू धम्की दिन नभई सामान्य भेटघाटका लागि मात्र गएका दाबी गर्दै भने, “हामी नेताकै टोलमा परेको घर भएका कारण मौका छोपेर किसान श्रेष्ठलाई भेट्न गएका हौँ। कुनै धम्की दिएको छैन, हामी चिया खान मात्र गएका थियौँ।”
सिमरामा एमाले कार्यकर्ता र जेनजी युवाबीचको झडपपछि तनावग्रस्त क्षेत्रको अवस्थाबारे बुझ्न गुरुङको टोली त्यतर्फ गएको थियो।


