कास्की । पोखराको विजयपुर खोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’ कार्यका कारण पृथ्वीराजमार्ग आजदेखि मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ।
मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डले बिहान ६–८ बजे र दिउँसो १२–२ बजे सडक पूर्ण वा आंशिक रूपमा बन्द रहने जनाएको छ। योजना प्रमुख कृष्णबहादुर कुँवरले, “पृथ्वीराजमार्ग हुँदै पोखरा भित्रिने र बाहिरिने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने” जानकारी दिएका छन्।
उक्त मार्गमा दुई पाङ्ग्रे तथा साना सवारीका लागि बुढीबजार–बेलचौतारा–चाउथे रुट र ठूला सवारीका लागि लेखना पावरहाउस चोक–बागमारा–बिरौट रुट प्रयोग गर्न आग्रह गरिएको छ।
मुग्लिन–पोखरा सडक योजनाको पश्चिम खण्डमा हालसम्म ५९.७६ प्रतिशत भौतिक प्रगति भएको छ। ३८.८८ किमीको खण्डमा ३७.०४ किमीमा पहिलो तहको कालोपत्र काम सम्पन्न भइसकेको छ। यसमा २९.६१ किमी खण्डमा चार लेन र ७.७९ किमीमा दुई लेन कालोपत्र तयार भएको छ। १२ मध्ये ११ पुल निर्माण सकिएको छ भने सेती नदीमा पुल निर्माणाधीन छ।


