काठमाडौं । नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीचको एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत अमेरिकाले थप ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने घोषणा गरेको छ।
यससँगै कम्प्याक्टको कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ। कुल लगानीमध्ये अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहनेछ।
थप प्राप्त अनुदान विद्युत् प्रसारण लाइन तथा अन्य प्राथमिकता प्राप्त पूर्वाधार निर्माणमा खर्च गरिनेछ। यसले मुलुकको ऊर्जा प्रणालीलाई सुदृढ बनाउने, प्रसारण क्षमता बढाउने र क्षेत्रीय ऊर्जा व्यापार विस्तारमा टेवा दिने अपेक्षा गरिएको छ। परियोजनाको लक्ष्य ऊर्जा ग्रिडको विश्वसनीयता बढाउँदै अन्तरराष्ट्रिय ‘कनेक्टिभिटी’ मजबुत बनाउनु हो।
अमेरिकी दूतावासका अनुसार, एमसीसीमार्फत प्राप्त सहयोगले नेपालमा अमेरिकी प्रविधि र कम्पनीहरूको पहुँच विस्तार गर्नेछ। दूतावासले यो सहयोग अमेरिका–नेपालबीचको दीर्घकालीन साझेदारीलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेको छ।


