काठमाडौं — काठमाडौँ महानगरपालिकाले ४२ हजार ८५६ वटा विद्युतीय शिफारिस जारी गरेको छ। ‘शिफारिस तथा प्रमाणित प्रक्रिया व्यवस्थापन प्रणाली’लाई थप परिष्कृत गर्ने उद्देश्यले आज प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको अध्यक्षतामा बसेको बैठकमा सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले यो तथ्याङ्क प्रस्तुत गरेका हुन्।
महानगरले सो प्रणाली २०८१ माघ १३ गतेदेखि कार्यान्वयनमा ल्याएको हो। कार्यान्वयनपछि अहिलेसम्म ३५ हजार ४४ जनाले अनलाइनमार्फत विभिन्न शिफारिसका लागि आवेदन दिएका छन्।
गएको वर्ष २३ हजार ८६३ र चालु वर्ष १८ हजार ९९३ शिफारिस गरी जम्मा ४२ हजार ८५६ शिफारिस अनलाइनबाट स्वीकृत भएको समितिले जनाएको छ। चालु आर्थिक वर्षमा मात्रै २० हजार ३९८ सेवाग्राहीले अनलाइनमार्फत शिफारिस मागेका छन्। प्रणालीमा १९५ प्रकारका सेवाका ढाँचा समावेश छन्।
तथ्याङ्कपछि प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले नागरिकका धेरै काम वडामै सकिनुपर्ने भन्दै सेवाप्रवाहमा संवेदनशील बन्न आग्रह गरे। विद्युतीय हस्ताक्षर प्रणाली कार्यान्वयनले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट हटाउने उनले उल्लेख गरे।
बैठकमा प्रशासन विभाग प्रमुख ध्रुवकुमार काफ्लेले अन्तिम लेखा परीक्षणको तयारी तथा वेरुजु फस्र्योट प्रक्रियालाई अगाडि बढाउन अनुरोध गरे। बैठकमा चालु आर्थिक वर्षका कार्यक्रम, उपलब्धि, गुनासा व्यवस्थापन प्रणाली, ‘हेल्लो सरकार’मा प्राप्त गुनासोको फस्र्योट तथा वडाले भोगेका समस्या–समाधानबारे पनि विस्तृत छलफल भयो।
छलफलमा राजस्व विभाग प्रमुख दीपक अधिकारीले बहाल कर संकलनमा देखिएका नीतिगत अस्पष्टता लेखा परीक्षकलाई बुझाउनुपर्ने आवश्यकता औँल्याए। स्वास्थ्य विभाग प्रमुख दीपककुमार के.सी.ले स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालनका लागि बजेट पठाइसकिएको बताए। योजना अनुगमन तथा मूल्याङ्कन एकाइ प्रमुख सुमित्रा लामिछाने सुवेदीले स्वीकृत कार्यक्रमका प्रगतिहरू नियमित अद्यावधिक गराउन अनुरोध गरिन्।
वडा सचिव र इञ्जिनियरहरूले बहाल करमा भाडा नलागेको अवस्थामा पनि राजस्व वेरुजु देखिएको गुनासो गरे। सहभागीहरूले बैठकले आपसी समन्वय बढाइ काम सुधार गर्ने अवसर मिलेको प्रतिक्रिया दिए।
अन्त्यमा, चालु आर्थिक वर्षका स्वीकृत कार्यक्रममध्ये सार्वजनिक सूचना आवश्यक पर्ने प्रक्रियालाई तत्काल अगाडि बढाउन, अन्तिम लेखा परीक्षणका लागि जिम्मेवारी तोक्न तथा आवश्यक कागजात तयारीमा जुट्न निर्देशन दिइएको छ।


