Tuesday, April 21, 2026
Homeस्वास्थ्य र जीवनशैलीसिरहामा तीन वर्षमा दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया

सिरहामा तीन वर्षमा दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया

सिरहा, २९ कात्तिक – नेपाल नेत्रज्योति संघ तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको सहकार्यमा लहान नगरपालिकाले सञ्चालन गर्दै आएको आँखा जाँच शिविरमार्फत तीन वर्षमा दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ।

नगरपालिकाका २४ वटै वडामा आयोजित शिविरमार्फत हालसम्म १८ हजार ३१७ जनाको आँखा परीक्षण गरिएको मध्ये दुई हजार ५५३ जनामा मोतियाबिन्दु पहिचान भएको शिविर प्रमुख राजकुमार यादवले जानकारी दिए।
पहिचान भएका बिरामीमध्ये एक हजार ९७७ जनाको शल्यक्रिया भइसकेको छ भने पाँच सयभन्दा बढी बिरामीको खोजी गरी चाँडै उपचारमा ल्याउने तयारी भइरहेको उनले बताए। ५० वर्षभन्दा माथिका नागरिकमा मोतियाबिन्दु बढी भेटिएको पनि यादवले उल्लेख गरे।

शिविर सञ्चालनका लागि लाग्ने प्रतिव्यक्ति पाँच हजार रूपैयाँ खर्चमध्ये आधा रकम लहान नगरपालिका र आधा अस्पतालले व्यहोर्दै आएका छन्। बिहीबार वडा नं. २४ मा गरिएको शिविरमा ३३५ जनाको जाँच हुँदा ९९ जनामा मोतियाबिन्दु पुष्टि भई तुरुन्तै अस्पताल पुर्‍याएर शल्यक्रिया गरिएको थियो।

नगर प्रमुख महेशप्रसाद चौधरीले नगरपालिकाले ‘मोतियाबिन्दु मुक्त नगरपालिका’ अभियान चलाइरहेको बताउँदै, “दियोको मुनि अँध्यारो रहनु हुँदैन भन्ने सोचका साथ हामी नगरवासीको आँखा स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएका छौँ,” भने।

अस्पतालका अध्यक्ष रविन्द्रलाल चौधरीले दलित तथा विपन्न वर्गका नागरिकले शिविरबाट प्रत्यक्ष लाभ पाएको उल्लेख गर्दै, लहान नगरपालिकाको सहकार्यले सिराहा–सप्तरीका अन्य पालिकामा पनि आँखा रोग निवारण अभियान सशक्त बन्दै गएको बताए।

शिविरमार्फत निःशुल्क उपचार पाएका दलित तथा विपन्न समुदायका नागरिकले आफ्नो जीवन सहज बनेको भन्दै लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालप्रति आभार व्यक्त गरेका छन्।

नेपाल नेत्रज्योति संघका अनुसार स्थापनादेखि २०२४ अन्त्यसम्म देशभरका २८ आँखा अस्पताल र २२६ आँखा उपचार केन्द्रमार्फत कुल ४ करोड ६८ लाख ६८ हजार ६० जनाले आँखा उपचार सेवा प्राप्त गरिसकेका छन् भने ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका