काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन्। बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहका बीच गृह सचिव रामेश्वर दंगालले उनलाई दर्ज्यानी चिह्न लगाइदिए।
प्रहरी संगठनका ३३औं आईजीपीका रूपमा कार्कीले बिहीबारदेखि नै आफ्नो पदभार सम्हालेका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो।
अघिल्ला आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि पूरा भएपछि अवकाशमा गएका छन्।
कार्कीले २०५४ चैत १८ गते इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। हालको व्यवस्था अनुसार, ऐन र नियमावलीमा कुनै फेरबदल नभए कार्कीले २०८४ चैत १७ सम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन्।


