काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का प्रतिनिधिहरूले गृहमन्त्री ओमप्रकाश अर्याललाई २६ बुँदे ज्ञापन पत्र बुझाएका छन्।
बुधवार सिंहदरबारस्थित गृह मन्त्रालयमा प्रसाईंका ६ जना प्रतिनिधिहरूले ज्ञापन पत्र बुझाएका हुन्। गृहमन्त्रीसँगको छलफलमा दुर्गा प्रसाईं स्वयं सहभागी भएनन्। उनका प्रतिनिधिहरूले मङ्सिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने घोषणा गर्दै आफ्नो आन्दोलन शान्तिपूर्ण हुने प्रतिबद्धता जनाएका छन्।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले प्रसाईं समूहले आफ्ना मागहरू राख्दै शान्तिपूर्ण ढंगले अघि बढ्ने बताएको जानकारी दिए। उनका अनुसार छलफलका क्रममा गृहमन्त्री अर्यालले सरकार वार्ता र संवादबाट अघि बढ्न चाहेको उल्लेख गरेका थिए।
काफ्लेले प्रसाईं समूहले दल दर्ता गर्ने प्रक्रियामा रहेको जानकारी दिएको पनि बताए। उनका अनुसार समूहका प्रतिनिधिहरूले राजनीतिक विषय राजनीतिक तवरले हल गर्नुपर्ने गृह प्रशासनको सुझावका साथ फर्किएका छन्।
अभियानका प्रवक्ता माधव कल्पितका अनुसार यदि सरकारले वार्ता बसेर जायज मागहरू कार्यान्वयन गर्ने लिखित प्रतिबद्धता जनाए, उनीहरू पूर्वघोषित आन्दोलन रोक्न तयार छन्।
अभियानका प्रमुख मागहरूमा नेपाललाई नेपालीले नै बनाउनुपर्ने, नेपालको व्यापार नेपाली नागरिकले मात्रै गर्न पाउने वातावरण सिर्जना गर्नुपर्ने, बौद्ध, किराँतसहित वैदिक सनातन धर्म सापेक्ष हिन्दू अधिराज्य र संवैधानिक राजसंस्था पुनःस्थापना गर्नुपर्ने लगायतका विषयहरू समावेश छन्।
त्यसैगरी, प्रदेश संरचना खारेज गरी ५ विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्ला पुरानै अवस्थामा कायम गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्रियकरण गर्नुपर्ने, र लघुवित्त तथा सहकारीबाट २० लाखभन्दा कम ऋण लिएका सर्वसाधारणको ऋण मिनाहा गर्नुपर्ने मागहरू पनि रहेका छन्।
प्रवक्ता कल्पितका अनुसार गृहमन्त्रीले समूहका मागहरूका विषयमा सकारात्मक प्रतिक्रिया जनाएका छन्।


