काठमाडौँ — किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।
विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा जन्मिएका महागुरु फाल्गुनन्द किरात धर्म, भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका अग्रदूत मानिन्छन्। समाज सुधारका लागि उहाँले ‘सत्य धर्म मुचुल्का’ नामक नीति निर्माण गर्नुभएको थियो, जसलाई विसं १९८८ वैशाख २४ गते जारी गरिएको थियो।
किरात समाज सुधार र नैतिक उत्थानका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएका फाल्गुनन्दको निधन विसं २००५ मा भएको थियो। उहाँको योगदानको सम्मानस्वरूप नेपाल सरकारले विसं २०६६ मङ्सिर १६ गते उहाँलाई राष्ट्रिय विभूति घोषणा गरेको हो।
महागुरुको स्मरणमा किरात समुदायको घना बसोबास भएका पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा लगायतका जिल्लामा आज विविध कार्यक्रममार्फत फाल्गुनन्द जयन्ती मनाइँदैछ।
त्यसैगरी, राजधानी काठमाडौंमा पनि किरात समुदायले र्याली, पूजा, सांस्कृतिक प्रस्तुति र श्रद्धाञ्जलि कार्यक्रमका माध्यमबाट महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाउने गरेको किरात ज्योतिष सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्माले राससलाई जानकारी दिनुभएको छ।


