Sunday, July 19, 2026
Homeस्वास्थ्य र जीवनशैलीबागलुङमा डेङ्गी सङ्क्रमण तीव्र, ५३२ जना प्रभावित

बागलुङमा डेङ्गी सङ्क्रमण तीव्र, ५३२ जना प्रभावित

ढोरपाटन (बागलुङ) — बागलुङ जिल्लामा डेङ्गी सङ्क्रमण तीव्र रूपमा बढ्दै गएको छ। हालसम्म जिल्लाभर ५३२ जना डेङ्गी संक्रमित फेला परेका छन्। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार बरेङ गाउँपालिकाबाहेक सबै पालिकामा डेङ्गी सङ्क्रमण फैलिएको छ।

सबैभन्दा बढी संक्रमित बागलुङ नगरपालिका क्षेत्रमा २९५ जना रहेका छन् भने सबैभन्दा कम तमानखोला गाउँपालिकामा एक जना संक्रमित फेला परेका छन्। प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेका अनुसार हाल दशवटै पालिकामा लक्षण देखिएका बिरामीको परीक्षण भइरहेको छ।

घिमिरेले दसैँ र तिहारपछि सङ्क्रमण दर तीव्र रूपमा बढेको बताउनुभयो। उहाँका अनुसार, “वर्षायाममा त्यति फैलिएको थिएन, तर अहिले सङ्क्रमण बढिरहेको छ। बरेङ बाहेक सबै पालिकामा संक्रमित भेटिएका छन्।”

सङ्क्रमितहरूको उपचार धौलागिरि अस्पताल बागलुङ, गलकोट अस्पताल, बुर्तिबाङ अस्पताल र कुस्मिशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा भइरहेको छ।

गलकोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलका अनुसार डेङ्गीबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु अत्यावश्यक छ। उहाँले खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा जम्मा हुने पानी हटाउने र लामखुट्टे उत्पन्न हुने स्थान नष्ट गर्न आग्रह गर्नुभएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका