काठमाडौँ — दान बहादुर कार्की नेपाल प्रहरीको ३३औँ महानिरीक्षक (आईजीपी) नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो।
वर्तमान आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि पूरा गरेर कार्तिक २६ गते अवकाशमा जाने तयारीमा छन्। खापुङले भदौ १९ गतेदेखि प्रहरी संगठनको कमान्ड समालेका थिए।
आईजीपी पदका लागि कार्कीसँगै एआईजी राजन अधिकारी, डा. मनोज कुमार केसी र सिद्धि विक्रम शाह दाबेदार रहेका थिए। २०८२ वैशाखमा खापुङसँगै एआईजीमा बढुवा भएका कार्की वरीयता सूचीमा पहिलो नम्बरमा थिए।
कार्कीले २०५४ चैत १८ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। प्रहरी ऐन र नियमावलीमा कुनै परिवर्तन नभएमा उनी २०८४ चैत १७ सम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन्।
भदौ २४ मा उनी मानवस्रोत विकास विभागबाट उपत्यका प्रहरी कार्यालयमा सरुवा भएर हाजिर भएका थिए। जेनजी प्रदर्शनको पहिलो दिन किशोरहरूको मृत्यु हुने गरी गोली चलेपछि उनलाई उपत्यकाको जिम्मेवारी दिइएको थियो।
कार्की २०८० सालमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सक्रिय रहेका थिए। त्यतिबेला उनी काठमाडौं प्रहरी परिसरका प्रमुख थिए र एआईजी डा. मनोज केसीले सुरु गरेको अनुसन्धानलाई निरन्तरता दिएका थिए।
उक्त प्रकरणमा संलग्न देखिएका पूर्व गृहमन्त्री बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी २०८० वैशाख २७ मा पक्राउ परेका थिए। त्यसैगरी, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का पुत्र प्रतीक थापा, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, बिचौलिया बेचन झा, केशव प्रसाद दुलाल र सानु भण्डारी पनि हाल पुर्पक्षका लागि थुनामा छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र अभियोजनले देशको राजनीतिक परिदृश्यमा ठूलो तरङ्ग ल्याएको थियो।


