काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाउन हेलम्बु गाउँपालिकालाई आवश्यक पहल गर्न आग्रह गरेका छन्।
मन्त्री घिसिङले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई समस्या समाधानका लागि सहयोग गर्न र पहल अघि बढाउन आग्रह गर्दै, विगतमा भएका सम्झौताअनुसार आयोजना प्रभावितहरूले उठाएका माग वार्ता र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको बताएका छन्। उनले काठमाडौं उपत्यकामा पानी आपूर्ति रोकिएकोले स्थिति गम्भीर बनेको र छिटो समस्याको समाधानका लागि पहल भइरहेको जानकारी पनि दिएका छन्।
अध्यक्ष शेर्पाले भने सरकारले विगतका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने बताएका छन्। उनका अनुसार, आयोजनाले लिएको जग्गा तथा घरभाडा, विगतको निर्माण व्यवसायी सीएमसीका सामान आपूर्तिकर्तालाई भुक्तानी, मेलम्ची बजारदेखि मेलम्ची घ्याङसम्मको सडक निर्माण, र सुन्दरीजलमा प्राप्त हुने पानीको बिक्री रकमको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गरिनु आवश्यक छ।
यसअघि २१ असोज २०८१ मा मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति, हेलम्बु गाउँपालिका र गाउँपालिकामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरूबीच सहमति भइसकेको थियो।
प्रधानमन्त्री शुशीला कार्कीले पनि मेलम्ची खानेपानीमा देखिएको समस्या समाधानका लागि निर्देशन दिएकी छन् र हाल प्रधानमन्त्रीकै नेतृत्वमा पानी मन्त्रालयको जिम्मेवारी सञ्चालन भइरहेको छ।


