Saturday, November 7, 2026
Homeसामाचारमहाकाली सिँचाइ आयोजनाको तेस्रो चरण १८ वर्षपछि पनि २७ प्रतिशतमै सीमित

महाकाली सिँचाइ आयोजनाको तेस्रो चरण १८ वर्षपछि पनि २७ प्रतिशतमै सीमित

महेन्द्रनगर । कञ्चनपुर र कैलालीका ३३ हजार ५२० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित रहेको छ।

बजेट अभाव, जग्गा मुआब्जा वितरणमा समस्या र रुख कटानजस्ता कारणले आयोजनाको काम सोचेअनुसार अगाडि बढ्न सकेको छैन। तर पछिल्ला केही वर्षयता आयोजना राष्ट्रिय गौरवको आयोजनाको रूपमा स्तरोन्नति भएपछि काममा तीव्रता आएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिडीई राजेशभक्त पोखरेलले जानकारी दिनुभयो।

उनका अनुसार, स्तरोन्नतिपूर्व मूल नहर निर्माणको प्रगति न्यून थियो। अहिले भने कैलालीको मालाखेतीसम्म १९ किलोमिटर मूल नहर चार प्याकेजमा निर्माण भइरहेको छ। सो निर्माणका लागि रु एक अर्ब ९७ करोडको ठेक्का सम्झौता गरिएको छ। करिब दुई वर्षअघि सम्झौता भए पनि समयमा काम नसकिएपछि चारवटै प्याकेजमा म्याद थप गरिएको छ।

सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत आयोजनाको तेस्रो चरण तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ। सिँचाइ आयोजना २०६३/६४ मा सुरु भई २०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिएको थियो। हालसम्म ब्रह्मदेव (जिरो प्वाइन्ट) देखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८.८ किलोमिटर मूल नहर निर्माण भइसकेको पोखरेलले जानकारी दिनुभयो।

भारतीय पक्षले पनि टनकपुरदेखि नेपाल–भारत सिमानासम्म महाकाली सन्धिअनुसार बनाउनुपर्ने १,२०० मिटर मूल नहर र हेडरेगुलेटर तयार गरिसकेको छ। तर, निर्माण सम्पन्न भए पनि पानी प्रवाहका लागि भारतीय पक्ष अझै सकारात्मक देखिएको छैन।

“फुलेलीसम्म पानी बगाउन कुनै समस्या छैन, पाँच–सातवटा शाखा नहर पनि बनेका छन्,” पोखरेलले भन्नुभयो, “तर भारतीय पक्षबाट पानी उपलब्ध गराउने विषयमा पटकपटक आग्रह गर्नुपरेको छ।”

हालसम्म आयोजनाको कुल प्रगति २७ प्रतिशत पुगेको र रु नौ अर्बभन्दा बढी लगानी भइसकेको उहाँले बताउनुभयो। मुआब्जा, जग्गा विवाद र रुख कटानका कारण काममा ढिलाइ भए पनि पछिल्लो समय बजेटको अभाव भने नरहेको उहाँले स्पष्ट गर्नुभयो।

आयोजना अन्तर्गत महाकाली नदीको पानी कैलालीको मालाखेती, र कञ्चनपुरको त्रिभुवनबस्ती, गुलरिया र दोधारा चाँदनी क्षेत्रमा सिँचाइका लागि पु¥याइनेछ। त्यसका लागि १ सय ५१ किलोमिटर नहर निर्माण गर्नुपर्नेछ। आयोजना कार्यालयले २०८७ सम्म मालाखेतीसम्मको नहर निर्माण पूरा गर्ने लक्ष्य राखेको जनाएको छ।

कञ्चनपुरमा मात्र १ लाख ६१ हजार ७४१ हेक्टर खेतीयोग्य जमिन छ, तर त्यसमध्ये ३६ प्रतिशत (५९ हजार ६०२ हेक्टर) मा मात्र खेती हुने र २९ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध भएको छ। बाँकी क्षेत्रमा किसानहरू अझै अकासे पानीमा निर्भर छन्।

महाकाली सिँचाइ आयोजनाको पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ। पहिलो र दोस्रो चरणका कामले भीमदत्त, बेदकोट नगरपालिका र दक्षिणी बेलडाँडी गाउँपालिकासम्म सिँचाइ सुविधा पुर्‍याएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका