मकवानपुर । बिहानको झिसमिसे उज्यालोमा बागमती गाउँपालिकाको केन्द्रतर्फको बाटोमा मानिसहरू बेल्चा र कोदालो बोकेर अगाडि बढिरहेका हुन्छन् । कोही ढुङ्गा उचाल्दै छन्, कोही मुस्कुराउँदै ‘शुभबिहानी’ भन्दै एकअर्कालाई स्वागत गरिरहेका छन् । त्यही भीडभित्र हिलोले छ्यापिएको जुत्ता र उज्यालो अनुहारसहित प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी पनि देखिन्छन् – गाउँपालिका अध्यक्ष सर्केश घलानले सात वर्षअघि सुरु गरेको श्रमदान संस्कृतिको निरन्तर सहभागीको रूपमा ।
नेपालका अधिकांश सरकारी अधिकृतहरू कार्यालयको कुर्सीमा सीमित रहन्छन् । तर दर्जी भने फरक ढङ्गले परिचित
छन् । बागमती गाउँपालिकाका अध्यक्ष घलान बिहान ५ बजेदेखि राति १२ बजेसम्म पालिकाका काममा सक्रिय रहने व्यक्ति हुन् । अहिले त प्रमुख प्रशासकीय अधिकृत दर्जी पनि त्यही श्रममा सहभागी देखिँदा स्थानीयवासीको उत्साह झनै बढेको छ ।
बिदा होस् वा बिहान-साँझ जुनसुकै समय, दर्जी गाउँका विकासका काममा घामपानी साट्दै आफ्नै हातले सहभागी
हुन्छन् । त्यसैले गाउँका बालबालिकादेखि वृद्धवृद्धासम्मले उनलाई ‘श्रमिक अधिकृत’ भनेर चिन्न थालेका छन् । अहिले बागमती गाउँपालिकामा बनेका खेलमैदान, पक्की सडक र साना पुलहरू ठेक्का होइन, श्रमदानकै उदाहरण हुन् ।
हरेक शनिबार बिहान अध्यक्ष घलान र दर्जीले सामाजिक सञ्जालमा ‘शुभबिहानी, आज पनि श्रमदानमा भेटौँ’ भन्ने सन्देश पठाउँछन् । त्यो सन्देश पढ्नेबित्तिकै गाउँका युवादेखि महिला समूहसम्म काममा जुट्छन् । “श्रमदानले पैसाभन्दा ठूलो मनको एकता ल्याउँछ,” दर्जी भन्छन्, “यो केवल विकास होइन, सामाजिक भावना निर्माणको अभ्यास हो ।”
दर्जीको विश्वास छ – “कागजमा हस्ताक्षर गरेर होइन, गाउँको माटोमा पसिना बगाएरमात्र विकासको स्वाद पाउन
सकिन्छ ।” उनका अनुसार, “म पदको होइन, जिम्मेवारीको बन्धनमा छु । बागमतीको माटोमा पसिना बगाउन पाउनु नै मेरो पुरस्कार हो ।”
स्थानीय मुक्ति लामाका अनुसार दर्जी गाउँपालिकामा आएपछि सरकारी कर्मचारीप्रतिको दृष्टिकोण बद्लिएको छ । “पहिले सरकारी कर्मचारी भने डर लाग्थ्यो । अब लाग्छ – उनीहरू हाम्रै साथी हुन्, हाम्रै माटोमा पसिना बगाउने साथी,” उनले भने । उनका अनुसार श्रमदान अभियानले गाउँको स्वरूप नै फेरिदिएको छ – धुलो र हिलोमात्र देखिने बाटो अहिले कालोपत्र भएका छन्, खेतछेउका खेलमैदान र पुलहरूले गाउँको रूप बदलिएको छ ।
सुनापतिबाट सुरु भएको यात्रा
रामेछापको सुनापति गाउँपालिकाको सानो गाउँमा जन्मेका ओमबहादुर दर्जीको जीवनयात्रा पनि गाउँकै बाटोझैँ धुलाम्मे तर दृढ छ । परिवारलाई वर्षमा थोरै भेट्ने उनले अधिकांश समय कार्यालय र श्रमदानमै बिताउँछन् । सन् २०१३ (वि.सं. २०६९ फागुन २०) मा उनले लोकसेवा आयोगको परीक्षा पास गरी हेटौँडास्थित नारायणी अञ्चल कार्यालयमा खरिदारको रूपमा सरकारी सेवा सुरु गरेका थिए ।
बाराका इनर्वासिरा र तेतरिया गाविसमा सचिव रहँदा उनले गाउँका समस्या नजिकबाट बुझे । पछि सर्वोच्च अदालतमा नायव सुब्बा बने । तर कार्यालयको कुर्सीभन्दा गाउँको माटोमा सेवा गर्न मन परे । त्यसपछि शाखा अधिकृत बनेपछि उनले प्रशासनलाई व्यवहारसँग जोड्ने प्रण गरे ।
वि.सं. २०७५ साउन ८ गते ओखलढुङ्गाको लिखु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनेपछि उनले विद्यालय छात्रवृत्ति पारदर्शी बनाउन र सडक निर्माणमा स्थानीय युवाको सहभागिता बढाउन अभियान चलाए । त्यसपछि चिसङ्खुगढी र मरिण गाउँपालिकामा पनि उनले श्रमदानको संस्कृति स्थापित गरे ।
“श्रमदानमै रमाउने मलाई श्रमदानबाटै विकास भइरहेको ठाउँमा काम गर्न पाउनु नै प्रेरणा हो,” दर्जी भन्छन् । वि.सं. २०८१ असोज ४ गतेदेखि उनले मकवानपुरको बागमती गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम सुरु गरे ।
‘सेवाग्राही हाम्रा भगवान् हुन्’
गाउँपालिका अध्यक्ष सर्केश घलानका अनुसार दर्जीको टेबलमा सधैं एउटा नोट टाँसिएको हुन्छ – “सेवाग्राही हाम्रा भगवान् हुन् ।” दर्जी भन्छन् – “प्रशासन जनता र सरकारबीचको पुल हो । पारदर्शिता, संवेदना र उत्तरदायित्वले मात्र त्यो पुल मजबुत रहन्छ ।”
उनका अनुसार, “सेवा लिन आउने नागरिक नै मालिक हुन् । हरेक सेवाग्राही काम लिएर खुसीसाथ फर्किए भने त्यही नै सन्तोष हो ।” स्थानीयहरूका अनुसार दर्जीले सधैं आत्मीय व्यवहार गर्छन् । बागमती गाउँपालिकामा नागरिकता, जग्गा दर्ता र कर तिर्ने प्रक्रिया अहिले सजिलो र छिटो भएको छ । उनका सहकर्मीहरू पनि बिहान सबेरै कार्यालय पुग्न थालेका छन् । “हाम्रा हाकिमले बिदामा पनि काम गर्नुहुन्छ भने हामी किन पछि पर्नु ?” एक कर्मचारीले हाँस्दै भने ।
जनताको सरकार, जनताको हातमा
अध्यक्ष घलान र अधिकृत दर्जीको सहकार्यले बागमती गाउँपालिकामा ‘जनताको सरकार’ भन्ने वाक्यांश अर्थपूर्ण बनेको छ । यहाँका अधिकांश निर्माण कार्य स्थानीयको श्रम र सहभागिताबाट सम्पन्न भएका छन् ।
साना पुल, खानेपानीका पाइपलाइन, पर्खाल, विद्यालयका शौचालयदेखि वृक्षारोपणसम्म सबै श्रमदानकै उपलब्धि हुन् । स्थानीय युवा विवेक सिन्तान भन्छन् – “दर्जी सर हामीसँगै कोदालो चलाउनुहुन्छ । उहाँ हाकिम होइन, साथी हो । जब उहाँ हामीसँगै पसिना बगाउनुहुन्छ, तब हामीलाई पनि काम गर्न प्रेरणा मिल्छ ।”
उनका अनुसार, बागमती गाउँपालिकामा नियमित र समयपालन गर्ने नेतृत्वका कारण अन्य कर्मचारीहरू पनि जिम्मेवार भएका छन् । श्रमदानले गाउँमा सामाजिक एकता ल्याएको सिन्तान बताउँछन् – “पहिले जात, समुदाय र विचारले विभाजित गाउँ अहिले एउटै उद्देश्यमा जोडिएको छ ।”
श्रम र सेवामा समर्पण
बागमती गाउँमा पहिले किसानहरू मात्र घामपानी साटेर काम गर्थे । अहिले त्यही माटोमा सरकारी अधिकृतदेखि जनप्रतिनिधिसम्म उभिएका देखिन्छन् । यो दृश्यले पुष्टि गर्छ – विकासको वास्तविक बाटो यन्त्र होइन, मानवीय श्रम र भावना हो ।
दर्जीले देखाएको उदाहरणले अन्य गाउँपालिकाका कर्मचारीहरूलाई पनि प्रेरित गरेको छ । कतैले सडकमा झार उखेलेर सुरु गरेका छन् , कतैले विद्यालय रंगरोगन गरेर । श्रमदान अब सरकारी आदेश होइन, स्थानीय गौरव बनेको छ ।
नेपालजस्तो सीमित स्रोत र साधन भएको देशमा ओमबहादुर दर्जीजस्ता अधिकृतहरू नै असली राष्ट्रसेवक हुन् । बागमती गाउँपालिकाले प्रमाणित गरेको छ – “देश विकासका लागि ठूलो बजेट होइन, साँचो निष्ठा र लगन चाहिन्छ ।”
बागमती गाउँपालिकामा अहिले रङ्गशाला, कुलो, सडक, पुललगायतका संरचनादेखि वृक्षारोपण र सामुदायिक भवनसम्मका कामहरू श्रमदानबाटै सम्पन्न भएका छन् । गाउँलेहरूको श्रम, स्थानीय नेतृत्वको लगन र अधिकृत दर्जीको समर्पणले बागमती आज साँच्चै ‘श्रम र सेवाबाट बनेको गाउँपालिका’ बनेको छ ।


