काठमाडौँ — देशका विभिन्न भागमा पश्चिमी वायु र बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव परेकाले आज पनि धेरै स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु सक्रिय छ भने अरब सागरमा बनेको न्यून चापीय प्रणाली र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव नेपालमा परेको छ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश पहाडी भू-भागमा बादल लाग्ने र तराईका भू-भागमा सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने विभागले जनाएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि हल्का वर्षा हुने अनुमान छ। महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही भागमा मध्यम हिमपात हुन सक्ने बताउँदै त्यस्ता क्षेत्रमा यात्रा गर्ने र खेतीपातीमा संलग्न किसानलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।


