काठमाडौं । मनाङ, मुस्ताङलगायतका हिमाली जिल्लामा गएरातिदेखि परेको हिउँका कारण उत्पन्न हुन सक्ने चुनौतीलाई ध्यानमा राख्दै पदयात्रा तथा भ्रमणमा निस्कने यात्रुहरूलाई सावधानी अपनाउन र सचेत रहन अनुरोध गरिएको छ।
मुस्ताङको लोमाङथाङ गाउँपालिका–५ नेचुङस्थित उपल्लो मुस्ताङ क्षेत्रमा परेको हिउँ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट नेचुङले पन्छाएको छ। सोही अवसरमा सो बाटो हुँदै पदयात्रा तथा भ्रमणमा जाने पर्यटकहरूलाई सुरक्षित यात्रा र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
यात्रुहरूको सहज आवागमनका लागि सो टोलीले कोरोला नाका जाने बाटोमा जमेको हिउँ पनि हटाएको जनाएको छ। बाटोमा हिउँ जमेर आवागमनमा असहजता आएपछि सो कार्य गरिएको हो। सशस्त्र प्रहरीले थप हिमपात हुने सम्भावना रहेकाले यात्रुहरूलाई उक्त क्षेत्रमा हाललाई भ्रमण नगर्न पनि अनुरोध गरेको छ।
त्यसैगरी, मनाङ जिल्लाको डिस्याङ गाउँपालिका–४ हुम्डेस्थित चामेदेखि खाङ्सार जाने बाटोमा परेको हिउँ पनि सशस्त्र प्रहरीले पन्छाएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३२ गुल्म मनाङबाट खटिएको टोलीले यात्रुहरूलाई मौसम प्रतिकूलताबारे सचेत रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
यसैगरी, म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण पदमार्गमा पदयात्रीहरूको सहजीकरणका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेस नारच्याङ, म्याग्दीको टोली खटिएको छ। सो टोलीले पदयात्रीहरूको सुरक्षा र सहज आवागमन सुनिश्चित गर्न हुमखोला भन्दा माथिसम्म पुगेर अनुगमन तथा सहयोग गरेको जनाएको छ।


