काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशभर हाल पश्चिमी वायू र अरव सागरमा विकसित न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ। तराईका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने तराई भू–भागमा आंशिक बदली रहने अपेक्षा गरिएको छ।
यस्तै, गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा, साथै कोशी प्रदेशसहितका अन्य पहाडी र हिमाली क्षेत्रमा पनि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको बताइएको छ। बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने भारी वर्षा वा हिमपात हुने सम्भावना कायम छ।


