ललितपुर : छातीमा सामान्य दुखाइ महसुस गरेपछि ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा भर्ना भएका शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ भने एक्सरे गर्दा छातीमा सानो दाग देखिएको छ। पहिला नै फोक्सोको समस्या भएकाले त्यो दाग पुरानै हुन सक्ने चिकित्सकले बताएका छन्। उनी जेठ २६ गते अस्पताल भर्ना भएका थिए।
शुक्रबार अपराह्न शताब्दी पुरुष जोशीलाई भेटेर फर्किएका ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अजरमान जोशीका अनुसार जोशीको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन्। ‘प्रेसर ठीक छ। पीसीआर नेजेटिभ आयो तर, छातीमा सानो दाग देखिएको छ’ अजरमानले भने ‘तर पुरानै दाग हुन सक्छ, डाक्टरले पुनः परीक्षण गरेर हेर्ने भनेका छन्।’ जोशी शताब्दी पुरुषसँग पारिवारिक सम्बन्ध भएका नजिकका व्यक्ति हुन्। उनले जोशीका स्वास्थ्य नजिकबाट नियालिरहेका छन्।
शताब्दी पुरुष २०७१ सालमा निकै लामो समय बिरामी परेका थिए। उनको फोक्सोको दायाँ भागमा पानी भरिएको थियो। लामो समय बल्खुस्थित बयोधा अस्पतालमा उपचार गराएका उनको त्यसै समयको दाग हुन सक्ने परिवार तथा चिकित्सकको अनुमान छ। जोशीले पहिलाझैं सामान्य खाना खाँदै आएका छन्। स्वास्थ्य अवस्था सामान्य रहे पनि जोशीको छातीको अब्जर्भेसनको लागि आइतबार मात्रै घर पठाउने चिकित्सकले जनाएका छन्।


