काठमाडौं : १० खेलाडीमा समेटिएको नेपालले बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियासँग सम्मानजनक हार बेहोरेको छ। अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप छनोट र सन् २०२३ को एसिया कपअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल अस्ट्रेलियासँग ३–० गोलले पराजित भएको हो।
शुक्रबार राति कुवेतको राजधानी कुवेत सिटीस्थित जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा समूह ‘बी’को आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियालाई रोक्न हरसम्भव प्रयास गरे पनि सफल हुन सकेन। नेपाली टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले अस्ट्रेलियाको लगातार आक्रमणलाई विफल पारेका थिए। फिफाको पछिल्लो वरीयतामा ४१औं स्थानमा रहेको अस्ट्रेलियाले लगातार नेपालको पोस्ट्मा आक्रमण बुनेको थियो। खेलको सुरुवातदेखि नै आक्रमण बनाएको
अस्ट्रेलियाले छैटौं मिनेटमा नै अग्रता बनाएको थियो। म्याथु लेकीले हेड गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाएका थिए। ३८औं मिनेटमा अस्ट्रेलियाले अग्रता दोब्बर बनाएको थियो। लेकीको बलमा फ्रान कारासिकले उत्कृष्ट गोल गरेका थिए।
पहिलो हाफको अन्तिम समयमा नेपाल १० खेलाडीमा समेटिएको थियो। खेलको ४५औं मिनेटमा अस्ट्रेलियाका मार्टिन बोयललाई फल गरेपछि रोहित चन्दले सिधै रातो कार्ड पाएका थिए। खेलको ५७औं मिनेटमा अस्ट्रेलियाले तेस्रो गोल गरेको थियो। मार्टिन बोयलले गोल गर्दै अस्ट्रेलियालाई ३–० को जित दिलाएका थिए। खेल अवधिभर जम्मा ३० प्रतिशत बलमाथि पक्कड जमाएको नेपालले अस्ट्रेलियाको पोस्ट्मा एउटै आक्रमण बुन्न सकेन।
विश्वकप छनोटअन्तर्गत नै नेपालले २०१९ को अक्टोबर १० मा अस्ट्रेलियासँग पहिलो लेगको खेल खेलेको थियो। अस्ट्रेलियाको घरेलु मैदानमा नेपालले फराकिलो हार बेहोरेको थियो। क्यानबेरास्थित जीआईओ स्टेडियममा नेपाल घरेलु टिमसँग नेपाल ५–० गोलले पराजित भएको थियो।
जितसँगै अस्ट्रेलिया फिफा विश्वकप छनोटको दोस्रो चरणमा पुगेको छ। विश्वकप छनोटको अघिल्लो चरणमा पुग्ने नेपालको सम्भावना भने यसअघि नै सकिसकेको थियो। जोर्डनसँग ३–० गोलले पराजित भएपछि नेपालको विश्वकप छनोटको यात्रा औपचारिक रुपमै समाप्त भएको थियो। तर, सन् २०२३ मा हुने एसियन कपमा सीधै छनोट हुने सम्भावना सकिए पनि प्लेअफबाट तेस्रो चरणमा पुग्ने सम्भावना भने बाँकी छ। अहिले भइरहेको छनोटबाट उत्कृष्ट १२ टोली एसिया कपमा सीधै छनोट हुनेछन् भने त्यसपछि १६ टिम एसिया कप छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछन्। एसिया कपमा २४ टिमले प्रतिस्पर्धा गर्ने भएकाले बाँकी १२ स्थानका लागि तेस्रो चरणको छनोट हुनेछ। त्यसमा थप आठ टिम प्लेअफबाट आउनेछन्। नेपालले पनि प्लेअफबाटै तेस्रो चरणमा पुग्नका लागि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। तर, त्यसको टुंगो सबै समूहको खेलपछि मात्रै लाग्नेछ।
नेपालको घरेलु मैदानमा हुनुपर्ने विश्वकप छनोटका खेल कोरोना महामारीका कारण कुवेतमा सञ्चालन गरिएको हो। नेपालमा कोरोना महामारी बढेपछि एसियाली फुटबल महासंघले सेन्ट्रल भेन्युका रूपमा कुवेतलाई रोजेको हो। कुवेतमा नेपालले यसअघि खेलेका दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको थियो। पहिलो खेलमा चाइनिज ताइपेईलाई २–० गोलले हराएको नेपाल जोर्डनसँग ३–० गोलले पराजित भएको थियो।
विश्वकप छनोटको खेलमा नेपालले आठै खेल खेलिसकेको छ। आठमध्ये दुई खेलमा जित निकालेको नेपालले ६ खेलमा भने पराजय बेहोरेको थियो। नेपालले चाइनिज ताइपेईलाई दुवै लेगको खेलमा पराजित गर्दै ६ अंक जोडेको छ। नेपालले कुवेतसँगको पहिलो खेलमा ७–० र दोस्रो खेलमा १–० गोलले हार बेहोरेको थियो। यस्तै जोर्डनसँगको दुवै खेलमा समान ३–०गोलले हार बेहोरेको थियो। अस्ट्रेलिया भने अहिलेसम्म अपराजित छ। अस्ट्रेलियाले खेलेका सात खेलमै जित निकाल्दै २१ अंक जोडेको छ। १३ अंक जोडेको जोर्डन दोस्रो र १० अंक रहेको कुवेत तेस्रो स्थानमा छ। नेपाल ६ अंकसहित चौथो र अंक जोड्न नसकेको चाइनिज ताइपेई पुछारमा छ।


