काठमाडौं । जेनजी आन्दोलनपछि दसैँका क्रममा काठमाडौंका सडकमा देखिएको प्रहरीको न्यून उपस्थिति यो तिहारमा देखिएन। तिहारको समयमा ट्राफिक प्रहरीको सक्रियताका कारण उपत्यकामा ठूलो दुर्घटना हुन नपाएको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार तिहारको दिन काठमाडौं उपत्यकामा १६ वटा सामान्य दुईपाङ्ग्रे सवारी दुर्घटनाका घटना मात्र दर्ता भएका छन्। उनले भने, “ट्राफिक प्रहरी प्रमुखसहितको टोली तिहारको दिन सडकमा खटिएको थियो। प्रहरीको सक्रियताकै कारण मानवीय क्षति हुन पाएन।”
उनका अनुसार उपत्यकामा १९९ जना मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएको आरोपमा कारबाहीमा परेका छन्। तीमध्ये १५ जना सामान्य घाइते भएका छन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीका अनुसार तिहारमा सुरक्षात्मक उपायहरू कडाइका साथ लागू गरिएको थियो। उनले भने, “तिहारमा लापरबाहीपूर्वक सवारी चलाउनेविरुद्ध सिसी क्यामेराबाट निगरानी बढाइएको थियो, साथै सडकमा ट्राफिक प्रहरीको उपस्थिति उल्लेखनीय थियो।”
उनका अनुसार भक्तपुर, ललितपुर, नयाँ बसपार्क, कोटेश्वर, रत्नपार्क, कलंकी, चाबहिलजस्ता व्यस्त क्षेत्रमा प्रहरीहरूले लगातार सवारी साधनको आवागमन व्यवस्थापनमा खटिएका थिए। अधिकारी स्वयं पनि दिनभर सडकमा रहेर निगरानीमा संलग्न भएको बताए।
“भाइटीकाभन्दा ठूलो हाम्रो कर्तव्य हो—नागरिक र देशका लागि सडकमा खटिनु नै हाम्रो तिहार हो,” प्रहरी प्रमुख अधिकारीले टोलीलाई सम्बोधन गर्दै भने, “चाडपर्वका बेला सवारी दुर्घटना र मापसेका घटना बढ्ने भएकाले ट्राफिक प्रहरी सधैं सतर्क रहनु अत्यावश्यक छ।”


