Saturday, November 7, 2026
Homeसामाचारदोदा नदीमा निर्माणाधीन पुलको काम ९० प्रतिशत पूरा

दोदा नदीमा निर्माणाधीन पुलको काम ९० प्रतिशत पूरा

कञ्चनपुर । दोदा नदीमा निर्माणाधीन पुलको ९० प्रतिशत काम सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीका अनुसार पुल निर्माण कार्य आगामी पुस मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढाइएको छ ।

उनका अनुसार हालसम्म पुलको ‘सुपरस्ट्रक्चर’ निर्माण कार्य पूरा भइसकेको छ भने हाल दुवै छेउतर्फ पर्खाल निर्माण र माटो भरानको काम भइरहेको छ । पुल निर्माणको कुल लागत अनुमानित रु २४ करोड ७३ लाख ८० हजार रहेको छ भने लुम्बिनी–राजेन्द्र–कुमार–श्रेष्ठ जेभीसँग रु २४ करोड ३ लाख ९२ हजारमा ठेक्का सम्झौता गरिएको हो ।

विसं २०७२ पुस २६ गते तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण समयमै काम सम्पन्न हुन सकेको छैन । म्याद थप्दै पुस मसान्तभित्र काम सक्ने तयारी भइरहेको जोशीले बताए ।

उनका अनुसार चालु आर्थिक वर्षमा पुल निर्माणका लागि रु ४० लाख मात्र विनियोजन भएकाले काम सम्पन्न गर्न कठिनाइ हुन सक्ने चिन्ता रहेको छ । पुल पूरा गर्न अझै करिब रु चार करोड आवश्यक पर्ने उनले जानकारी दिए ।

पुल नहुँदा स्थानीयवासी वर्षौंदेखि जोखिम मोलेर नदी पार गर्दै आएका छन् । पुल निर्माण सम्पन्न भएपछि लाझाडी, शुक्लाफाँटा र कृष्णपुर क्षेत्रका बासिन्दाको आवागमनमा सहजता आउने स्थानीय बच्चन रानाले बताए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका