काठमाडौं । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ। नेवार समुदायले यो सम्वत्लाई नयाँ वर्षका रूपमा विशेष उत्सवका साथ मनाउने परम्परा राख्दै आएको छ।
राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (ई.स. ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुआत गरेका थिए। लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरका अनुसार नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को मान्यता पाएको थियो।
उनका अनुसार, “लिच्छविकालका राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल सम्वत् पृथ्वीनारायण शाहसम्म मौलिक राष्ट्रिय सम्वत्का रूपमा प्रचलनमा थियो। लिच्छविकालअघि शक सम्वत् प्रयोगमा थियो। नेपाल देशको नामबाट राखिएकाले यो हाम्रो मौलिक सम्वत् हो।”
विसं २००७ मा प्रजातन्त्र स्थापना भएपछि नेपाल सम्वत्लाई पुनः राष्ट्रिय मान्यता दिलाउन अभियान सुरु गरिएको थियो। अहिले काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले यस पर्वलाई धुमधामका साथ मनाउने गरेका छन्।
गरिब जनताको ऋणमोचन गरेर सामाजिक सेवाको उच्च उदाहरण प्रस्तुत गरेका शंखधर साःख्वालाई विसं २०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले राष्ट्रिय विभूति घोषणा गरेका थिए।
त्यसैगरी, विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वत्लाई राष्ट्रिय मान्यता दिने घोषणा गरेका थिए। परम्पराअनुसार, कार्तिक कृष्ण औँसीका दिन पुराना बहीखाता बन्द गरी कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाताको सुरुआत गर्ने चलन काठमाडौंमा अझै प्रचलित छ।


