बाजुरा । बाजुराको सर्वाधिक विकट हिमाली गाउँपालिका–३ गुम्बा गाउँ जाने बाटोमा पर्ने छिन्दु खोलामा झोलुङ्गे पुल बनेपछि यहाँका स्थानीय बासिन्दा दशकौँदेखि भोग्दै आएको जोखिमबाट मुक्त भएका छन्।
स्थानीयले ‘ज्यानमारा खोला’का रूपमा चिन्ने छिन्दु खोलामा लामो समयको प्रयासपछि झोलुङ्गे पुल निर्माण गरिएको हो। पुल निर्माणसँगै वर्षौँदेखि आवतजावतमा भोग्दै आएको कठिनाइ अन्त्य भएको स्थानीयले बताएका छन्।
सहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना, कैलालीले उक्त पुल निर्माण गरेको हो। करिब १ करोड २८ लाख ९ हजार ९ सय रुपैयाँको लागतमा टेण्डर आह्वान गरिएको परियोजनामा जगदम्बा–सुर्मासरोवर जेभीले ८४ लाख ७५ हजार १ रुपैयाँमा सम्झौता गरी काम सम्पन्न गरेको थियो।
हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लका अनुसार गुम्बा र लाम्पाटा गाउँमा भोटे जनजातिका करिब ३५ घरधुरी परिवार बसोबास गर्छन्। उनका अनुसार पुल नहुँदा पछिल्ला १० वर्षमा सात जना स्थानीय बगेर वेपत्ता भएका थिए, साथै धेरै चौपायाको समेत क्षति भएको थियो।
हाल १७० मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण भई सञ्चालनमा आएपछि स्थानीयहरूलाई नदी पार गर्न सहज भएको छ। यसले आवतजावतमा मात्र होइन, जनधनको क्षति रोकथाममा पनि ठूलो राहत पुर्याएको स्थानीयवासीहरूले बताएका छन्।
बाजुराका अन्य दुर्गम स्थानमा पनि यस्ता झोलुङ्गे पुल नहुँदा स्थानीयहरू अझै जोखिम मोलेर नदी पार गर्न बाध्य रहेको बताइन्छ।


