काठमाडौं । इजरायल–हमास युद्धका क्रममा निधन भएका कञ्चनपुरका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिँदैछ।
जोशीको अन्त्येष्टि आज बिहान महाकाली नदीको भुजेला घाटमा धार्मिक परम्पराअनुसार राष्ट्रिय सम्मानसहित सम्पन्न हुने भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार सशस्त्र प्रहरीले जोशीको सम्मानमा सलामी अर्पण गर्ने तयारी गरेको छ।
विपिन जोशीलाई २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बन्धक बनाएको थियो। उनी अध्ययनको सिलसिलामा इजरायल पुगेका थिए।
जोशीको शव सोमबार मात्र इजरायलबाट नेपाल ल्याइएको हो। नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी र तीन सदस्यीय इजरायली प्रतिनिधिमण्डलसहित जोशीको शव काठमाडौंबाट नेपाली सेनाले स्काई ट्रकमार्फत धनगढी विमानस्थलमा ल्याई सलामी अर्पण गरेर परिवारलाई बुझाइएको थियो।


