Saturday, November 7, 2026
Homeसामाचारनारायणहिटी अगाडि रमेश दुलालद्वारा ‘२२औँ काग सम्मेलन’ भव्य रुपमा सम्पन्न

नारायणहिटी अगाडि रमेश दुलालद्वारा ‘२२औँ काग सम्मेलन’ भव्य रुपमा सम्पन्न

काठमाडौं । काग तिहारको अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको नारायणहिटी गेट अगाडि ‘२२औँ काग सम्मेलन’ भव्य रूपमा सम्पन्न गरेका छन्।

टप राजधानी रोधी तथा ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा सम्पन्न कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै हजारौँ कागलाई आकर्षित गरे। बिहान पौने ६ बजे सुरु भएको कार्यक्रममा उनले कागको आवाज निकाल्नेबित्तिकै हजारौँ कागहरू आकाशबाट झर्दै भेला भएका थिए।

दुलालले हालसम्म कागसहित १७३ प्रकारका जनावर र चराचुरुङ्गीका आवाजहरू नक्कली रूपमा निकाल्न सक्छन्। साथै, उनी मुखकै सहायताले मादल, सनाई, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा र गिटारका धुनहरू पनि प्रस्तुत गर्न सक्छन्। उनका अनुसार विगतका वर्षहरूमा उनले कहिले रत्नपार्कस्थित शान्ति बाटिकामा, कहिले विमानस्थल परिसरमा, त कहिले सामाजिक सन्देशसहित ‘काग सम्मेलन’ आयोजना गर्दै आएका छन्।

दुलालले भने, “काग तिहारको दिन काग सम्मेलन गर्न थालेको अहिले २२ वर्ष भयो। कागलाई यमराजको दूतका रूपमा मानिन्छ। यसपटक भने शुद्ध सांस्कृतिक उद्देश्यले यो सम्मेलन गरेको हुँ।” उनले काग तिहारलाई धार्मिक र सांस्कृतिक दुवै अर्थमा मनाइने परम्परालाई जोगाउन र जनचेतना जगाउन यो कार्यक्रम आयोजना गरेको बताए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका