Saturday, November 7, 2026
Homeसामाचारदुई महिनासम्म काठमाडौंका यी पाँच स्थानमा विरोधका कार्यक्रम गर्न बन्देज

दुई महिनासम्म काठमाडौंका यी पाँच स्थानमा विरोधका कार्यक्रम गर्न बन्देज

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न स्थानमा आगामी दुई महिनासम्म भेला, प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोध कार्यक्रम गर्न निषेध गरेको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा शुक्रबार जारी आदेशअनुसार पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने उल्लेख छ। आदेशमा विरोध कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी, उच्छृङ्खल गतिविधि, आपसी मुठभेड वा अशान्ति हुने सम्भावना रहेको कारण यस्तो निर्णय गरिएको जनाइएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम राष्ट्रपति कार्यालय शीतल निवासलगायतका क्षेत्रहरूमा आजदेखि लागू हुने गरी दुई महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्तिले अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन वा सभा गर्न निषेध गरिएको हो।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म, सामाखुशी मोडदेखि १०० मिटर दक्षिणसम्म र त्यहाँबाट सामाखुशी खोलासम्मको क्षेत्रमा भेला र प्रदर्शन गर्न निषेध गरिएको छ।

त्यसैगरी, हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्र, केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म र नारायणहिटी दरबार संग्रहालय परिसरमा पनि कुनै प्रकारको भेला वा प्रदर्शन गर्न नपाइने आदेशमा उल्लेख छ।

केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म, र संग्रहालय दक्षिण गेटदेखि महेन्द्र सालिकसम्मको क्षेत्र पनि निषेधित क्षेत्रका रूपमा तोकिएको छ।

सिंहदरबार क्षेत्रका लागि पनि विशेष प्रतिबन्ध लगाइएको छ। भद्रकाली मन्दिर (तीनकुने आइल्याण्ड) को पूर्वी कुनादेखि सिंहदरबार मूलगेटसम्म, मूलगेटबाट उत्तरतर्फ पद्मोदय माविको मोडसम्म भेला प्रदर्शन निषेध गरिएको छ।

त्यस्तै, पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगर जाने उत्तरपूर्वी मोड, सो मोडदेखि सिंहदरबार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म, साथै सिंहदरबार मूलगेटदेखि दक्षिणतर्फ सर्वोच्च अदालत र पुरातत्व विभागसम्मको क्षेत्र पनि निषेधित रहेको छ।

जिल्ला अदालतको पूर्वी मोडदेखि जिल्ला प्रशासन कार्यालय उत्तर मोडसम्म, प्रधानमन्त्री निवास बालुवाटार परिसर, राष्ट्रियसभा अध्यक्षको निवास, प्रधानन्यायाधीशको निवास तथा राष्ट्र बैंक चोकदेखि पूर्वतर्फ १०० मिटर दूरीसम्मको क्षेत्रमा समेत कुनै प्रकारको भेला, धर्ना वा प्रदर्शन गर्न नपाइने आदेशमा उल्लेख गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका