काठमाडौं, १ कात्तिक- दिपावलीको अवसरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले कानुनविरुद्धका गतिविधि नगर्न र नगर्न दिन आग्रह गरेको छ।
कार्यालयले मैनबत्ती वा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन र आतिसबाजी, पटाका, भुइँचम्पा लगायतका विस्फोटक वा आगलागी हुने पदार्थको खरिद–बिक्री, ढुवानी, भण्डारण तथा प्रयोग नगर्न सार्वजनिक सूचना जारी गरेको छ।
दिपावलीका अवसरमा देउसी–भैलो जस्ता कार्यक्रमहरू मर्यादित, अनुशासित र व्यवस्थित तरिकाले बेलुकी ९ बजेसम्म मात्र गर्न र कुनै गुनासो नआउने गरी सञ्चालन गर्न अनुरोध गरिएको छ।
सूचनामा भनिएको छ, “सार्वजनिक आवागमन हुने सडकमार्गमा अवरोध हुने गरी देउसी–भैलो खेल्न पाइने छैन। सार्वजनिक स्थान, पदमार्ग वा सडकमार्गमा सर्वसाधारणको आवागमनमा बाधा पुग्ने गरी कुनै पनि पूजा मण्डप वा दीपावली उत्सव थलो बनाउन पाइने छैन।”
चाडपर्वको समयमा सम्पत्ति चोरी हुने जोखिम बढ्ने भएकाले घर खाली नछोड्न, सतर्क रहन, घर छोड्नुपरेमा छिमेकीलाई जानकारी गराउन र शंकास्पद व्यक्ति देखिएमा नजिकको प्रहरी वा सुरक्षा निकायमा खबर गर्न कार्यालयले आग्रह गरेको छ।
त्यस्तै, अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना नगर्न, कालोबजारी, मूल्यवृद्धि वा म्याद नाघेका वस्तु बिक्री नगर्न, सवारीसाधनमा क्षमता भन्दा बढी यात्रु नबोक्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, तोकिएको भन्दा बढी भाडा नलिन र ट्राफिक नियमको पालना गर्न तथा गराउन ध्यानाकर्षण गराइएको छ।
साथै, चिठ्ठा, जुवातास, अनलाइन सपिङ वा अन्य नाममा हुने अवैध कारोबार तथा विद्युतीय माध्यमबाट हुने ठगीबाट सावधान रहन सबैलाई जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।


