काठमाडौं । वर्षाका कारण लामो समयदेखि बन्द रहेको मेलम्चीको खानेपानी फेरि काठमाडौं ल्याइएको छ। गत वर्ष असार १० गते वर्षायाममा मेलम्ची नदीमा आएको बाढी र पहिरोका कारण आयोजना प्रभावित भएपछि पानी आपूर्ति रोकिएको थियो। आवश्यक मर्मत सम्पन्न भएसँगै हाल मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यकामा प्रवाह थालिएको हो।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासका अनुसार वर्षातले क्षति पुर्याएका संरचनाको मर्मतपछि हाल सुन्दरीजलस्थित संकलन तथा प्रशोधन केन्द्रमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेको छ।
उनले भने, “वर्षातले क्षति पुर्याएका स्थानहरू मर्मत गरी र पानीको बहाव घटेपछि अहिले हामीले मेलम्चीको पानी काठमाडौँ ल्याउन सफल भएका छौँ। हाल सुन्दरीजलमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइपुगिरहेको छ।”
काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग रहे पनि मेलम्ची बन्द हुँदा विभिन्न स्रोतबाट जम्मा १३–१४ करोड लिटर मात्रै आपूर्ति भइरहेको थियो।
अब मेलम्चीको पानी पुनः सुन्दरीजलमा आइपुगेसँगै काठमाडौं उपत्यकामा वितरण सुरु गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलले बताए।
उनका अनुसार, “मेलम्चीबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइपुगेसँगै हामीले वितरण सुरु गरेका छौं। अघिसम्म छ दिनमा एकपटक मात्रै धारामा पानी आउँथ्यो, अब तीन–तीन दिनको फरकमा हरेक घरमा पानी आउनेछ।”
वि.सं. २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढी र पहिरोले आयोजनाको हेडवर्क्स पूर्णरूपले नष्ट भएपछि त्यसयता मेलम्चीको पानी केवल हिउँदमा मात्र आपूर्ति हुँदै आएको छ।
बाढीपछि मुहान बन्द रहेकाले रिबर्मा खोलाबाट दैनिक ६–७ करोड लिटर पानी स्थानान्तरण गरेर काठमाडौंमा वितरण भइरहेको समितिका निर्देशक दासले जानकारी दिए। उनका अनुसार वि.सं. २०७८ चैत १५ गते पहिलो पटक पूर्ण क्षमतामा दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण थालिएको थियो। तर, सोही वर्ष असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले पुनः आयोजनामा ठूलो क्षति पुर्याएपछि काठमाडौँमा वर्षभरि नियमित रूपमा पानी ल्याउन नसकिएको हो।


