काठमाडौँ, २६ असोज — तिहार सुरु हुन अझ केही दिन बाँकी भए पनि संघीय राजधानी काठमाडौँका बजारहरूमा अहिले नै किनमेल गर्नेको चहलपहल उल्लेख्य रूपमा बढेको छ।
यस वर्षको तिहार आगामी कात्तिक २ गतेदेखि सुरु हुँदैछ। तर, तिहारका सामग्री अग्रिम रूपमा किन्न उपभोक्ता बजारतर्फ धाउन थालेपछि बजारमा रौनक बढेको व्यापारीहरू बताउँछन्। राजधानीका मुख्य व्यापारिक क्षेत्रहरू — न्युरोड, असन, इन्द्रचोक, भोटाहिटी, लगनखेल, बानेश्वर, कोटेश्वर र थिमी लगायत स्थानमा तिहारका सामान किन्ने ग्राहकहरूको भीड दिनप्रतिदिन बढ्दै गएको छ।
असनका व्यापारी भाइकाजी मर्हजनका अनुसार उपत्यका बाहिर जानेहरू र स्थानीय उपभोक्ताले अहिले नै माटोका पाला (दियो), झिलिमिली बत्ती, सप्तरङ्गी टीका, मखमली माला, लक्ष्मीपूजाका सामग्री, भाइमसला, अमला, ढाकाटोपी, भाँडावर्तन र लुगा–कपडा खरिद गर्न थालेका छन्।
उनका अनुसार, “तिहार नजिकिँदै जाँदा बजारमा किनमेल गर्नेको भीड र उत्साह दुवै बढ्दै गएको छ।”
यसैबीच, तिहारलाई लक्षित गर्दै साना–ठूला पसल र सपिङ सेन्टरहरूले विभिन्न अफर र छुट योजनासहित बिक्री सुरु गरेका छन्। साँझपख सडकछेउ र फुटपाथमा पनि तिहारका सामग्री सजाइएको देखिन्छ, जहाँ ग्राहकहरूको बाक्लो भीड लाग्ने गरेको छ।
सुन्धारास्थित फुटपाथमा लुगा व्यापार गर्दै आएकी शान्ति भुजेलका अनुसार विशेषगरी साँझपख र बिदाका दिनमा बजारमा ग्राहकको चहलपहल उल्लेख्य हुन्छ। उनले भनिन्, “नयाँ लुगा, झिलिमिली बत्ती र घर सजावटका सामग्री किन्न आउनेको संख्या धेरै छ, जसका कारण अहिले व्यापार निकै राम्रो चलिरहेको छ।”
त्यसैगरी, इन्द्रचोकका कपडा व्यापारी अमिरमान श्रेष्ठका अनुसार भाइटीकाको तयारीसँगै भाइमसला प्याक, ढाकाटोपी, टीका सेट, मिठाई र गिफ्ट आइटमको माग तीव्र रूपमा बढेको छ। उनले थपे, “महिला र बालबालिकाका लागि आकर्षक लुगा र शृङ्गार सामग्रीको बिक्री विशेष रूपमा बढेको छ।”
साथै, मौसम चिसिँदै गएसँगै बजारमा जाडोका कपडाको व्यापार पनि विस्तारै बढ्न थालेको व्यापारीहरूले जनाएका छन्। व्यापारीहरूले जाडोलाई लक्षित गर्दै नयाँ सामान भित्र्याएर बिक्री सुरु गरिसकेका छन्।


