काभ्रेपलाञ्चोक, २५ असोज — गत साताको बाढीले क्षतिग्रस्त बनाएको बिपी राजमार्गका विभिन्न खण्डमा अस्थायी सडक निर्माणलाई तीव्रता दिँदै १९ स्थानमा ‘डाइभर्सन’ तयार भएपछि राजमार्ग आजदेखि आवतजावतका लागि पूर्ण रूपमा खोलिएको छ।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार शुक्रबार साँझसम्म सबै क्षतिग्रस्त खण्डमा ‘ट्रयाक’ खोलिएपछि परीक्षण गरी आज बिहानदेखि राजमार्ग सञ्चालनमा ल्याइएको हो। राति नै कामलाई निरन्तरता दिँदा बिहानैदेखि सवारीसाधन नियमित रूपमा चल्न थालेका छन्।
शुक्रबार साँझसम्ममा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडादेखि रोशी गाउँपालिकाको माम्तीसम्म ट्रयाक खोलिएको थियो। कार्यालयका प्रमुख, वरिष्ठ डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार चौकीडाँडा, कटुञ्जे–घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेँसी, पिप्लेका चार स्थान र माम्तीका दुई स्थानसहित कुल १९ ठाउँमा डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिएको हो।
कार्यालयका अनुसार काभ्रेपलाञ्चोक खण्डमा १६ र सिन्धुली खण्डमा तीन स्थानमा डाइभर्सन निर्माण गरी शुक्रबार अपराह्न ट्रयाक खोलिएको थियो। काभ्रेपलाञ्चोकको सडक खण्डमा खोलाको धार फर्काएर अस्थायी सडक निर्माण गरिएको हो। इञ्जिनियर योगेशले भने, “ट्रयाक खोलेर सडकको अवस्था परीक्षण गर्यौँ, आवश्यक सुधार राति नै सम्पन्न गर्यौँ र आज बिहानदेखि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याएका छौँ।”
रोशी खोलाको बाढीले करिब चार किलोमिटर सडक कटान गरेको थियो। मंगलबारदेखि औपचारिक रूपमा डाइभर्सन निर्माण सुरु गरिएको र बिहीबार दिउँसोदेखि रातिसम्म करिब दुई दर्जन मेसिन प्रयोग गरी काम निरन्तर जारी रहेको कार्यालयले जनाएको छ। बाढीपहिरोले राजमार्गका १७ स्थानमा क्षति पुर्याएको थियो। सो क्षेत्रमा गत वर्ष पनि बाढीपहिरोले सडक बिगारेपछि अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन गरिएको थियो।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बिहीबार क्षतिग्रस्त राजमार्गका विभिन्न खण्डको स्थलगत अवलोकन गरी डाइभर्सन निर्माण कार्यलाई तीव्र बनाउन निर्देशन दिनुभएको थियो। उहाँले राति काम गरेर भए पनि शुक्रबार बेलुकासम्म राजमार्ग सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको थियो।
पूर्वी नेपाललाई राजधानीसँग जोड्ने छोटो र महत्वपूर्ण मार्गका रूपमा रहेको यो राजमार्गबाट दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्छन्। डिभिजन सडक कार्यालयले राजमार्गको स्थायी पुनर्निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढाइरहेको पनि जनाएको छ।


