Sunday, November 8, 2026
Homeसामाचारराजीनामाको चेतावनी नदिएको प्रहरी महानिरीक्षक खापुङको प्रष्टीकरण

राजीनामाको चेतावनी नदिएको प्रहरी महानिरीक्षक खापुङको प्रष्टीकरण

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ्गले पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गर्न दबाब सृजना भए राजीनामा दिने भनाइ आफूले नगरेको स्पष्ट पारेका छन्।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले सञ्चार माध्यमहरूमा प्रकाशित ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सृजना गरिए वा बाध्य बनाइए राजीनामा दिन्छु’ भन्ने आशयका समाचारहरू भ्रामक र तथ्यहीन रहेको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘केही दिनयता विभिन्न पत्रपत्रिकाहरू र सञ्चार माध्यमहरूमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गर्न दबाब सृजना गरिए वा बाध्य बनाइए राजीनामा दिने भन्ने अभिव्यक्ति दिएको भनी प्रकाशित समाचारहरूका सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।’

आईजीपी खापुङ्गले कतै पनि त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको स्पष्ट गर्दै प्रधानमन्त्री र गृहमन्त्रीसँग भएका सुरक्षा बैठकहरूमा देशको समसामयिक सुरक्षा परिस्थिति र त्यसबाट उत्पन्न हुन सक्ने चुनौतीहरूको विश्लेषण गर्दै शान्ति–सुव्यवस्था कायम गर्ने विषयमै केन्द्रित रहेर छलफल गरिएको बताएका छन्।

विज्ञप्तिमा थप उल्लेख गरिएको छ, ‘प्रहरी महानिरीक्षकले प्रधानमन्त्री र गृहमन्त्रीसँग भएका छलफलहरूमा शान्ति–सुव्यवस्था र सुरक्षासम्बन्धी विषयहरूमा मात्र ध्यान केन्द्रित गर्दै सौहार्दपूर्ण रूपमा विचार विमर्श गरेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका