Sunday, November 8, 2026
Homeसामाचारसकसपूर्ण दसैँयात्रा : एकै दिन १९ हजार २५५ हवाईयात्रु

सकसपूर्ण दसैँयात्रा : एकै दिन १९ हजार २५५ हवाईयात्रु

काठमाडौँ, २४ असोज: सामान्य अवस्थामै हरेक वर्ष दसैँको यात्रा कठिन हुने गरेको छ। चाहे हवाई यात्रा होस् वा सडक यात्रा, दुबै नै यात्रुको लागि चुनौतीपूर्ण रहन्छ। सङ्घीय राजधानी काठमाडौँ बाहिरका गन्तव्यतर्फ जाने र दसैँपछि फर्कने यात्रुको अत्यधिक संख्याका कारण यो समस्या हरेक वर्ष दोहोरिन्छ।

हवाई उडान महँगो भए पनि टिकट पाउन मुस्किल हुन्छ भने बसको टिकट पनि सहज उपलब्ध हुँदैन। यस वर्ष भने दसैँकै समयमा आएको भारी वर्षाले यात्राको कठिनाइ झनै बढाइदियो।

विजयादशमीको भोलिपल्ट अर्थात् असोज १७ देखि २० सम्म निरन्तर वर्षा हुँदा मुलुकभर जनजीवन प्रभावित भयो। राजधानी प्रवेश गर्ने मुख्य नाका अवरुद्ध भए भने हवाई आवागमन पनि एक दिन पूर्ण रूपमा रोकियो। असोज १८ गते प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान रद्द भएका थिए।

वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीले हरेक वर्ष दसैँको समयमा उडानमा अत्यधिक चाप हुने गरेको बताउँदै यस पटकको प्राकृतिक विपत्तिले यात्रुले थप कठिनाइ भोग्नु परेको जानकारी दिनुभयो। “सडक अवरुद्ध भएपछि हवाई उडानमा चाप बढ्यो र यात्रु गन्तव्यसम्म पुग्न निकै कठिनाइमा परे,” उहाँले भन्नुभयो।

दसैँको समयमा हवाई र सडक यातायात मुख्य माध्यम हुन्। बर्सेनि दसैँमा टिकट पाउन मुस्किल हुन्छ। यस वर्षको विपत्तिका कारण यात्रु दुई–चार दिनसम्म टिकटको खोजीमा भौतारिनुपर्‍यो। एयरलाइन्स कम्पनीले समेत यात्रुको चाप व्यवस्थापन गर्न कठिनाइ भोग्नुपर्‍यो। चाप बढेपछि केही गन्तव्यमा अतिरिक्त उडान सञ्चालन गरेर सेवा दिइयो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तथ्याङ्क अनुसार असोज १२ देखि २१ सम्म दस दिनमा कुल १,३४,५१५ यात्रुले हवाई यात्रा गरेका छन्। यसमध्ये ७४,५९१ यात्रु बाहिरिएका र ५९,५४४ यात्रु काठमाडौँ भित्रिएका छन्। उक्त अवधिमा कुल २,५४८ उडान (१,२८५ उडान र १,२६३ अवतरण) भएका थिए।

एकै दिन, असोज २० गते आन्तरिकतर्फ १९,२५५ यात्रु आवतजावत गरेका छन्। यसमा ९,९३६ यात्रु काठमाडौँ भित्रिएका र ९,१३८ बाहिरिएका थिए। उक्त दिन ३२४ उडान (१६४ उडान र १६० अवतरण) भएका थिए।

सडक अवरुद्ध भएपछि यात्रुले हवाईयात्रा रोज्नु परेको र त्यसले एयरलाइन्सको व्यवस्थापन चुनौतीपूर्ण भएको कार्कीले बताउनुभयो। बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले पनि दसैँको दिनको वर्षाले उडान व्यवस्थापनमा तीन–चार दिनसम्म समस्या भएको बताउनुभयो।

यती एयरलाइन्स र श्री एयरलाइन्सका प्रतिनिधिहरूले पनि दसैँको समयमा यात्रुको चाप र प्रतिकूल मौसमले उडान व्यवस्थापनमा कठिनाइ भएको जानकारी दिनुभयो। यतीले दैनिक दुईतर्फी ६०–७० उडान सञ्चालन गरेको छ भने श्री एयरलाइन्सले करिब ७० उडान गर्दै आएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको भाडा अनुसार काठमाडौँ–धनगढी सबैभन्दा लामो गन्तव्य रु १७,५७९ र काठमाडौँ–सिमरा सबैभन्दा नजिकको गन्तव्य रु ३,९७८ रहेको छ।

अविरल वर्षाले बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा यात्रुले हवाईयात्रा रोज्न बाध्य भएका थिए। सडक लामो घुम्ती पार गरेर जानुपर्दा सामान्य ८–१० घण्टाको यात्रा थप १० घण्टा लामो र कठिन भएको थियो। बसको भाडा पनि झण्डै दोब्बर पुगेको छ।

हरेक वर्ष दसैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने इच्छा रहन्छ, तर हवाई टिकटको अभाव र सीमित उडानका कारण यात्रामा कठिनाइ रहन्छ। सम्बन्धित निकायले हवाईयात्रा सहज, सुलभ र उडान व्यवस्थापनमा सुधार गर्न बेलैमा ध्यान दिन आवश्यक छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका