काठमाडौँ — गत असोजमा बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्ग पुनर्निर्माण पूरा नहुँदै यो वर्ष पनि बाढी–पहिरोको मारमा परेको छ। दसैँको मुखमै सवारी आवागमन ठप्प भएपछि यात्रुहरू वैकल्पिक रूपमा मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्ग प्रयोग गर्न बाध्य भएका छन्।
गत वर्ष पनि दसैँअघि राजमार्ग अवरुद्ध हुँदा यात्रुले निकै सास्ती भोग्नुपरेको थियो। यस वर्ष अघिल्लो वर्षजति कठिनाइ नभए पनि यात्रुहरू दोब्बर–तेब्बर भाडा तिरेर यात्रा गर्न बाध्य भएका छन्।
सडक डिभिजन भक्तपुरका अनुसार राजमार्गलाई शनिबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्यसहित मर्मत कार्य तीव्र रूपमा भइरहेको छ। हाल चौकीडाँडामा नदी डाइभर्ट गरी पुरानो ट्र्याकमा अस्थायी डाइभर्सन निर्माण भइरहेको छ। डिभिजनल इन्जिनियर योगेश सुमनका अनुसार चौकीडाँडा खण्डमा बिहीबारदेखि सवारी सञ्चालन हुने गरी काम भइरहेको छ।
हाल सडक मर्मत तथा पुनर्निर्माणका लागि १६–१७ वटा उपकरण परिचालनमा छन्। कटुञ्जेबेसी र कालढुंगाको मर्मत कार्य पूरा भइसकेको छ भने मंगलटारको बोक्सीकुना र चारसयबेसी क्षेत्रमा मर्मत कार्य जारी छ।
विभागका अनुसार क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माणका लागि करिब २९.५ किलोमिटर सडकमध्ये तीन खण्डको ठेक्का लागिसकेको छ भने एक खण्ड जापानी कम्पनी जाइकाले निर्माण गर्नेछ। साढे दुई किलोमिटर सडकको ठेक्का भने बाँकी छ।
इन्जिनियर सुमनका अनुसार अहिले बगेको संरचना स्थायी सडक नभई विभागले आफ्नै मेसिन र जनशक्ति प्रयोग गरी निर्माण गरेको अस्थायी डाइभर्सन हो। “स्थायी सडक संरचनामा क्षति पुगेको छैन,” उनले भने, “गत वर्ष बनाइएको अस्थायी डाइभर्सन बगाएको हो।” प्रारम्भिक अनुमानअनुसार यस डाइभर्सन बगाउँदा करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको छ।
गत वर्ष असोजको तेस्रो साता परेको अविरल वर्षाका कारण बनेको अस्थायी डाइभर्सन सडकका १७ स्थानमा क्षति पुगेको थियो।
स्थायी पुनर्निर्माण योजना
स्थायी संरचना निर्माणका लागि गत वर्ष जेठ–असारमै ठेक्का लगाइएको थियो। संयुक्त सर्भे कार्य पूरा भइसकेको र दसैँपछि ठेकेदारहरूले काम सुरु गर्ने तयारीमा रहेको डिभिजनले जनाएको छ। अस्थायी डाइभर्सन बगेका कारण केही असर परेको भए पनि पुनर्निर्माण योजना यथावत् रहेको छ।
नेपालथोकदेखि बर्खेखोलासम्म ४.९० किलोमिटर सडक पुनर्निर्माणका लागि खरिढुंगा/घिसिङ/क्षितिज जेभीसँग ६१ करोड रुपैयाँ (भ्याटसहित) लागतमा ठेक्का सम्झौता भएको छ। बर्खेखोलादेखि पिप्लेसम्म ३.२२ किलोमिटर सडक जाइकाले निर्माण गर्नेछ।
पिप्लेदेखि डालाबेँसीसम्म २.३० किलोमिटर सडक पुनर्निर्माणका लागि १ अर्ब २१ करोड रुपैयाँ लागत अनुमान गरिएको छ, जसको ठेक्का प्रक्रियाको तयारी भइरहेको छ।
डालाबेँसीदेखि चारसयबेँसीसम्म ८.५ किलोमिटर सडक पुनर्निर्माणका लागि खानी–एवन–कमलजीत जेभीले १ अर्ब ४२ करोड ३७ लाख रुपैयाँमा ठेक्का लिएको छ। चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्म ११.०८ किलोमिटर सडक पुनर्निर्माणका लागि लामा–नवकान्तिपुर जेभीले १ अर्ब ३३ करोड ५३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ।
विभागका अनुसार बाँकी खण्डको ठेक्का दसैँअघि नै खुलाउने तयारी भए पनि हालैको ‘जेनजी आन्दोलन’का कारण प्रक्रिया केही ढिलो भएको बताइएको छ।


