काठमाडौँ, असोज २२ — प्रधानमन्त्री सुशीला कार्कीले विदेशस्थित सबै नेपाली राजदूत तथा नियोग प्रमुखहरूलाई भर्चुअल रूपमा सम्बोधन गर्दै देशमा भएको हालको राजनीतिक परिवर्तन, आम निर्वाचन, सुशासन र वैदेशिक कूटनीतिका विषयमा स्पष्ट निर्देशन दिनुभएको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार प्रधानमन्त्री कार्कीले नेपालमा भएको “जेन–जी पुस्ताको आन्दोलनपछि” आएको ठूलो परिवर्तनबारे सम्बन्धित देश र सरोकारवालाहरूलाई जानकारी गराउन निर्देशन दिनुभएको हो।
उहाँले आगामी फागुन २१ गते (५ मार्च २०२६) हुने आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न विदेशी सरकार र संस्थाहरूको सहयोग आवश्यक हुने भएकाले त्यसका लागि समयमै समन्वय गर्न आग्रह गर्नुभयो।
प्रधानमन्त्रीले आन्दोलनका कारण केही समय थमिएको पर्यटन र आर्थिक गतिविधि अहिले पुनः सामान्य अवस्थामा फर्किएको बताउँदै, “नेपाल खुलिसकेको छ, सबै क्षेत्रहरू सञ्चालनमा आएका छन् भन्ने सन्देश विश्वभर पुर्याउन आवश्यक छ,” भन्नुभयो।
पाँच मुख्य निर्देशनबुँदा
प्रधानमन्त्री कार्कीले विदेशस्थित नियोग प्रमुखहरूलाई पाँच बुँदामा विशेष ध्यान दिन निर्देशन दिनुभयोः
राजनीतिक परिवर्तनको जानकारी दिनु:
हालैको आन्दोलन र त्यसपछि बनेको अन्तरिम सरकारका प्राथमिकता र जनअपेक्षाका बारेमा सम्बन्धित मुलुक र सरोकारवालालाई जानकारी गराउन।
आम निर्वाचनमा समन्वय:
स्वतन्त्र, निष्पक्ष र भयमुक्त निर्वाचनका लागि अन्तर्राष्ट्रिय संस्था, साझेदार र मित्रराष्ट्रहरूसँग आवश्यक समन्वय गर्न। विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने विषयमा पनि सुझाव संकलन गर्न।
पुनर्निर्माण कोष प्रचारप्रसार:
सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोष सम्बन्धी जानकारी प्रवर्द्धन गरी स्रोतको पारदर्शी प्रयोग सुनिश्चित गर्न।
पर्यटन पुनर्जीवन अभियान:
आन्दोलनपछि घटेको पर्यटक आगमन सुधार गर्न नेपालको सामान्य अवस्थाबारे विश्वलाई जानकारी गराउन।
विदेशस्थित नेपालीको हकहित रक्षा:
रोजगारी, अध्ययन वा अन्य कारण विदेशमा रहेका नेपालीहरूको अधिकार, सुरक्षा र सम्मान सुनिश्चित गर्न र सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन।
विदेशस्थित नेपालीका लागि सुधारका योजना
प्रधानमन्त्रीले विदेशी जेलमा रहेका नेपाली, क्षतिपूर्तिका लागि भौतारिरहेका परिवार र भिजिट भिसाको दुरुपयोगबाट उत्पन्न समस्याका विषयमा नियोगहरूलाई विशेष सतर्कता अपनाउन निर्देशन दिनुभयो।
उहाँले भिसा, उद्धार, शव झिकाउने, क्षतिपूर्ति जस्ता कन्सुलर सेवाहरूलाई अनलाइन प्रणालीबाट सहज बनाउन जोड दिनुभयो।
कूटनीति, जलवायु र विकासका प्राथमिकता
विश्वव्यापी अस्थिरता र नयाँ अवसरको सन्दर्भमा प्रधानमन्त्री कार्कीले नेपालले “राष्ट्रहितलाई केन्द्रमा राखी प्रभावकारी र परिणाममुखी कूटनीति सञ्चालन गर्नुपर्ने” बताउनुभयो।
उहाँले जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय कोषहरूसँग सहकार्य, सौम्य शक्ति (Soft Power) को प्रवर्द्धन र नेपालको सकारात्मक छवि अभिवृद्धिमा ध्यान दिन आग्रह गर्नुभयो।
“जेन–जी पुस्ताको चाहनाअनुसार परिवर्तन सम्भव छ”
प्रधानमन्त्री कार्कीले अन्त्यमा भनिन्,
“हामी इतिहासको निर्णायक क्षणमा उभिएका छौं। सुशासन र प्रभावकारी सेवा प्रवाहका साथ आम निर्वाचनमार्फत जेन–जी पुस्ताको चाहनाबमोजिमको परिवर्तनलाई आत्मसात गर्न हामी सफल हुनेछौं।”
उहाँले नियोग प्रमुखहरूलाई देश र जनताको सेवालाई केन्द्रमा राखी अझ बढी जिम्मेवारी र सेवाभावका साथ कार्य गर्न आह्वान गर्नुभयो।


