Sunday, November 8, 2026
Homeसामाचारक्षतिग्रस्त बिपी राजमार्गमा अस्थायी सडक बनाइँदै

क्षतिग्रस्त बिपी राजमार्गमा अस्थायी सडक बनाइँदै

काभ्रेपलाञ्चोक, २१ असोज — असोज १८ र १९ गतेको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीपहिरोले क्षतिग्रस्त बनाएको बिपी राजमार्गमा पुनः अस्थायी सडक (डाइभर्सन) निर्माण कार्य सुरु गरिएको छ। दुई दिनको लगातार वर्षापछि रोशी खोलाको पानीको बहाव कम भएपछि आइतबारदेखि डाइभर्सन निर्माण कार्य थालिएको हो।

डिभिजन सडक कार्यालय भक्तपुरले रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको समन्वयमा खोला एकतर्फी फर्काएर पुनः डाइभर्सन बनाउन सुरु गरेको हो। गत वर्षको असोज महिनामा पनि सो क्षेत्रमा बाढीपहिरोका कारण करिब आठ किलोमिटर सडक डाइभर्सन गरेर अस्थायी रुपमा सञ्चालन गरिएको थियो। तर, शनिबार र आइतबारको बाढीले उक्त सडकखण्ड पुनः क्षतिग्रस्त बनाउँदै बगाएको छ।

कार्यालयका सूचना अधिकारी इञ्जिनियर बिन्दु अधिकारीका अनुसार चौकीडाँडाको एक स्थान र सिन्धुलीतर्फका अन्य तीन–चार स्थानमा अस्थायी सडक निर्माण सुरु गरिएको छ। उनले भने, “सडक पूर्ण रूपमा बगेको र कुनै अवशेष नरहेकाले अब पानीको सतहभन्दा माथि गरी नयाँ डाइभर्सन निर्माण गर्न लागिएको छ।”

सिन्धुलीतर्फ पनि सोमबारदेखि डाइभर्सन निर्माण कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। उनका अनुसार सिन्धुलीस्थित डिभिजन सडक कार्यालय खाल्टेले नेपालथोकतर्फबाट दुईवटा एस्काभेटर प्रयोग गरी सडक पुनर्निर्माण सुरु गरेको छ।

सिन्धुलीबाट काभ्रेपलाञ्चोकतर्फको नमोबुद्धको चौकीडाँडासम्मका विभिन्न स्थानमा सडक बगाउँदा बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। हाल सवारीसाधनहरू खुर्कोट–मन्थली हुँदै अरनिको राजमार्ग वा सिन्धुली–हेटौँडा हुँदै काठमाडौं आउने–जाने वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार चौकीडाँडा, घुमाउने र माम्ती क्षेत्रलगायत स्थानमा रोशी खोलाले राजमार्ग पूर्ण रूपमा कटान गरेकाले अहिले पैदल यात्रा गर्नसमेत सम्भव छैन।

कार्यालय प्रमुख कोमल शाहका अनुसार शनिबार साँझदेखि रोशी र मङ्गलटार खोलाको बाढीले राजमार्गका करिब दर्जन स्थानमा लेदो जमाएको र सडक बगाउँदा पिप्ले तथा बोक्सेकुनाका पैदल मार्ग पनि अवरुद्ध भएका छन्। सडक कटान भएपछि फसेका करिब तीन दर्जन सवारीसाधनलाई प्रहरीले सुरक्षित स्थानमा राखेको छ।

जिल्ला विपद् व्यवस्थापन समितिले शनिबारदेखि बिपी राजमार्गमा तीन दिनका लागि सवारीसाधन आवतजावत रोक्ने निर्णय गरेको थियो। लगातार वर्षाका कारण विभिन्न स्थानमा लेदो र साना पहिरो झरेपछि थप जोखिम हुन नदिन ट्राफिक प्रहरीले धुलिखेल, काभ्रेभञ्ज्याङ, भकुण्डे र मङ्गलटारमा सवारीसाधन ‘होल्ड’ गरेको थियो।

डिभिजन सडक कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी पुनर्निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढाइरहेको छ। बिपी राजमार्ग पूर्वी नेपाललाई जोड्ने छोटो र व्यस्त मार्ग हो, जसबाट दैनिक हजारौं सवारीसाधनहरू आवतजावत गर्छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका