काठमाडौँ, २१ असोज — नेपालमा मनसुनी वायु क्रमशः कमजोर हुँदै गएको छ। तर सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागका केही स्थानहरूमा भने पश्चिमी वायुको आंशिक प्रभाव जारी रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले मंगलबार जारी गरेको मौसम बुलेटिनका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भूभागमा सामान्य बदली र बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानहरूमा, साथै अन्य प्रदेशका पहाडी भूभागका थोरै र तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
महाशाखाका अनुसार आज राति पनि कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ।
लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी तराईका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।


